लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानिय थारु समुदायमा मलामासको कारण आज अखारी पर्व मनाईदै

IMG

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार।  तराईका आदिवासी थारु समुदायले शनिबार अखारी पर्व मनाएका छन् ।  असारको पहिलो दिन अर्थात १ गते थारु समुदायले प्रकृतिको पूजा गरी ‘अखारी पर्व’ मनाउदै आए पनि यसवर्ष मलमासका कारण यो पर्व साउनमा पर्न गएको हो ।आजको दिन थारु समुदायले आफ्नो घरको देउता घरमा केराको पातमा खीर र दूध चढाउने गर्छन् । त्यस्तै राजाजी मन्दिर (थान) मा साँझ दियो बत्ति बालेर थारु गाउँमा पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।वर्षायाम सुरु भएसँगै प्राकृतिक जोखिम र विपदबाट अप्रिय घटनाहरु नघटोस् भनी असारको पहिलो दिन गाँउका सबैजनाले मिली दिउँसो आआफ्नो घरमा र साँझमा ग्राम थान (मन्दिरमा) गइ सामूहिक रुपमा दियो बत्ती बाल्ने परम्परागत संस्कार रहेको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।उनी भन्छन्, ‘थारुहरु प्रकृतिपूजक भएकाले प्रत्‍येक ऋतु र याम अनुसार उनीहरुले प्रकृति पूजा आराधना परापूर्वकालदेखि नै गर्दै आएका छन् । असार वर्षायामको सुरुवात भएकाले यो दिन थारु समुदायले सुस्वास्थ्य, दीर्घायू र बीऊ रोप्ने शुरुवातका लागि गाउँ गाउँमा प्रकृतिको पूजा गरिन्छ ।’


अखारी पुजा नगरी खेतबारीमा समेत ‘गव लिने’ अर्थात धान रोप्ने चलन नरहेको पनि संस्कृतिविद चौधरीले बताए । ‘असार लागेसँगै अब वर्षाऋतु शुरु भयो । वर्षासँगै विषालु किरा-फट्याङ्ग्राको बिगबिगी हुन्छ।  यसबाट बच्नका लागि पूजा आराधना गरिन्छ । त्यतिमात्रै नभइ महामारी रोग, खेतीपातीमा कुनै प्राकृतिक प्रकोप नहोस् भनी पूजा गर्ने चलन रहेको छ’ उनले भने ।यस्तै आजकै दिन थारु समुदायमा ग्वाही अर्थात गाईगोठमा रहेको मुख्य खम्बा दुबोसहितको माटो राख्ने चलन रहेको छ । यसले गाईवस्तुमा कुनै किसिमको रोग व्‍याधी, महामारी नआओस्, सबै गाउँ-घर समाजको कल्याण होस भन्ने मान्यता रहेको छ ।अखारी पुजा गर्दा विशेषगरी खीर, लड्डु, आँप, कटहर जस्ता फलफूल चढाएर पूजा आराधना गर्ने गरिन्छ । पूजा आरधनासँगै दिनभरि काम गरेर थाकेपछि थकान मेटाउन बेलुका ग्रामथानमा सबैजना भेला भइ थारु जातिको मौलिक एवं धार्मिक गीत वाद्यवादनको तालमा बाजा बजाएर गाउने चलन छ ।यसपछि अन्त्यमा सबैजना सामूहिक रुपमा अखारी पूजाको प्रसाद ग्रहण गर्ने चलन रही आएको छ ।


कमेन्ट गर्नुहोस्