
तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार।टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जितेकी छन् ।सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।
सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त
टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ ।टोकियो ओलम्पिकमा जुडोको ४८ केजीमुनिको स्पर्धामा भिड्दै नेपालकी सोनिया भट्ट र रुसकी इरिना डोल्गोभा ।कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६.८ अंक जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले ५० जना सुटरमध्ये ४६ औं स्थानमा रहेर ओलम्पिक यात्रा टुंग्याइन् । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा आफैले बनाएको ६१४.५ अंकको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन् । यो स्पर्धामा कम्तीमा ६२८.५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।
निप्पोन बुदोकानमा बिहानै भएको जुडोको प्रतिस्पर्धामा १९ वर्षीया सोनियाले पहिलो बाउट जित्ने लक्ष्य बनाएकी थिइन् । तर, उनको चुनौती रुसकी इरिना डोल्गोभाले १ मिनेट १६ सेकेन्डमै समाप्त पारिदिइन् । ग्रान्डस्लाम र युरोपियन च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ पदक जितेकी इरिनाविरुद्ध सोनियाको केही सीप चलेन र नकआउट नै हुनुपऱ्यो ।३२ औं ग्रिष्मकालीन ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी छन् । पौडीमा गौरिका सिंहले जुलाई २७ र अलेक्जेन्डर गाडेगार्ड शाहले जुलाई २८ मा प्रतिस्पर्धा गर्दैछन् । एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा दौडनेछिन् । यी तीन खेलाडीले विश्वव्यापी सहभागिताको आधारमा ओलम्पिक खेल्ने अवसर पाएका हुन् । कल्पना र सोनिया आमन्त्रण कोटामा ओलम्पियन बनेका हुन् ।
कमेन्ट गर्नुहोस्