लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम नहुने

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी। आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।


यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भव्य रूपमा बुद्धजयन्ती मनाउने गरिन्थ्यो । ‘यस वर्ष भव्य रूपमा मनाउने तयारी थियो, तर कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि औपचारिक कार्यक्रम गरेर मनाउन नसक्ने भयौं’ कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने ।


बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।

कमेन्ट गर्नुहोस्