लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के अनिष्ट हुने हो खै ? भीमेश्वरको शिलामा पसिना आयो

tillotmacitynews - 2021 May 09 11:41 AM
IMG

आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका शिलामा एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आइतबार मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले ई जानकारी दिए । यस पटक शिलाको बायाँ र बीच दुव भागमा पसिना आएको उनले बताए । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएक छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए ।


भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शिलालाई चमरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।


शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन छ । पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारीसमेत गराइसकेको छ । आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।


शिलामा पसिना आएपछि प्रजिअलगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुगेका थिए। भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलनअनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाइने निर्णय गरिएको बताइएको छ । महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहकार र जनप्रतिनिधिसहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ ।

कमेन्ट गर्नुहोस्