
१८ माघ, तिलोत्तमा । नेपालबाटै कुष्ठरोग निवारण भए पनि लुम्बिनी प्रदेशको सबैभन्दा सुगम जिल्ला रुपन्देही अझै पनि कुष्ठरोगकै चपेटामा रहेको छ। देश कुष्ठरोगबाट निवारण भए पनि रुपन्देहीमा अझै पनि कुष्ठरोग निवारण गर्न बाँकी नै रहेको छ ।२०६६ साल माघ महिनामा नेपाल कुष्ठरोग निवारण भएको देशको रुपमा आफूलाई घोषणा गरेको थियो । सामान्यतः जिल्लामा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम गर्ने लक्ष्य रहेको नेपालले यो लक्ष्य प्राप्त गरि मुलुक कुष्ठरोग निवारण भइसकेको छ । तर रुपन्देहीमा यो दर १ दशमलव १९ रहेकाले कुष्ठरोग निवारण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भनाई छ । राष्ट्रिय स्तरमा यो दर शुन्य दशमलव ६९ रहेकोले नेपाल कुष्ठरोग निवारण घोषणा गरि सकिएको छ । रुपन्देहीमा आर्थिक बर्ष २०७६/०७७ को अन्त्य सम्ममा १ सय २६ जना कुष्ठरोगका बिरामीहरु उपचारमा रहेको स्वास्थ्य कार्यालयका क्षय/कुष्ठरोग निरिक्षक टिकाराम अधिकारीले जानकारी दिए । उनले गत आर्थिक बर्षमा १ सय २१ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको बताए । यस्तै चालु आर्थिक बर्षका कार्तिक मसान्त सम्ममा ४६ जना नयाँ बिरामी पत्ता लागी सकेका छन् ।
रुपन्देहीमा पनि सबै भन्दा बढी कुष्ठरोगका बिरामीहरु बुटवल उपमहानगरपालिकामा रहेका छन् । बुटवलमा आर्थिक बर्ष २०७६/०७७ मा २१ जना नया बिरामी पत्ता लागेका थिए । यस्तै तिलोत्तमामा २०, सिद्धार्थनगर नगर पालिकामा १३, सैनामैना नगरपालिकामा १० र देवदह नगरपालिकामा ८ जना नया बिरामी पत्ता लागेका थिए ।“देश नै निवारण भए पनि रुपन्देही जिल्लाले लक्ष्य अनुसार कुष्ठरोग निवारण गर्न सकेको छ्रैन ।” अधिकारीले भने “यसमा बिरामीहरु खुलेर उपचारमा नआउदा र उनिहरुलाई हुने बिभेद पनि प्रमुख कारकको रुपमा रहेको छ ।” समाजमा अहिले पनि कुष्ठरोगलाई नकारात्मक दृष्टिले हेर्ने र बिरामीप्रति हेलाभाव राखेको कारण बिरामीहरु यस बारे खुल्न नचाहेको अधिकारीको भनाई छ ।अन्य रोग भन्दा कुष्ठरोगक सर्ने सम्भावना धेरै न्यून रहेको हुन्छ । सर्ने मध्येका ९५ प्रतिशतमा रोग प्रतिरोधी क्षमताको कारण यो रोग सर्न सक्दैन । रोग लागे पनि कसैले ६ महिना र कसैले १ बर्ष नियमित औषधी सेवन गरे यो रोगको जिवाणुलाई समाप्त पार्न सकिन्छ र यसबाट मुक्ती पाउने उपाय रहेको छ ।
कमेन्ट गर्नुहोस्