लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यथाशीघ्र एकता महाधिवेशन गरौँ':ओली

IMG

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठ लामो डकुमेन्टको अन्त्यमा पार्टीभित्रको समस्या समाधान कसरी गर्ने भन्ने बाटो बताएका छन् ।केपी ओली नै मुलुकको कार्यकारी प्रमुख रहेको र पार्टीको प्रथम अध्यक्षसमेत भएकाले समस्या समाधानको प्रस्ताव पनि उनैले ल्याउनुपर्ने सो पार्टीका नेताहरुले बताउँदै आएका थिए ।यसै सन्दर्भमा शनिबार सचिवालय बैठकमा पेश गरेको डकुमेन्टमा सचिवालयले अब के गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले आफ्नो मत राखेका हुन् ।


‘गम्भीर आत्मसमीक्षा गरौं कमरेडहरु, र जनचाहना अनुरुप अगाडि बढौँ’ भन्दै प्रधानमन्त्री ओलीले आफूले नयाँ जनप्रतिनिधिहरुलाई सरकार हस्तान्तरण गर्न चाहेको बताउँदै अर्को निर्वाचनसम्म सरकारको नेतृत्व गर्ने जनाऊ दिएका छन् ।त्यसैगरी आगामी महाधिवशेनअघि बहुमत देखाएर आफूलाई अध्यक्ष पदबाट हटाउन नमिल्ने ओलीको तर्क छ । महाधिवेशनबाट भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ईच्छुक रहेको र प्रचण्ड पनि त्यसो गर्न तयार हुनुपर्ने ओलीको भनाइ छ ।


‘अन्तरिम कमिटीको बहुमतले हटाउन मिल्दैन’

प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीतर्फ लक्षित गर्दै पार्टी एकतापछि बनेका यी अन्तरिम कमिटीहरुको प्रयोजन बहुमतको खेलमा लाग्ने नभई महाधिवेशनका लागि मात्रै भएको बताएका छन् ।प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न बहानामा हस्ताक्षर संकलन गरिरहेको गुनासो गरेका ओलीले प्रचण्डलाई लेखेको पत्रमा भनेका छन्, ‘मेरो आग्रह छ, कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ ।’


अहिलेका कमिटीहरुको प्रयोजन अधिवेशन गराउने मात्रै रहेको बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन् । …. एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ ।’प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका सबै समस्याको समाधानका लागि चाँडो महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।शनिबारको सचिवालय बैठकमा सहभागी नेताहरुलाई अध्ययनका लागि दिइएको ३८ पृष्ठको डकुमेन्टमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या समाधानको सूत्र बताउँदै भनेका छन्, ‘विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ । सबै कमरेडहरुलाई यस अभियानमा साथ र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’


आफूलाई अन्तरिम कमिटीहरुको बहुमतले हटाउन नमिल्ने बताएका प्रधानमन्त्री ओलीले महाधिवशेनपछि अध्यक्ष छाड्ने र अर्को चुनावपछि प्रधानमन्त्री नबन्ने प्रतिवद्धता जनाएका छन् ।नेकपा अध्यक्ष ओलीको भनाइ छ, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिकरुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । यो भन्दा बढी मैले के त्याग गर्नु पर्ने हो ?’


पार्टी र सरकार दुबैको नेतृत्व हस्तान्तरणबारे प्रधानमन्त्री ओलीको बटमलाई यस्तो छ-

‘नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्यसहितको पार्टी हस्तान्तरण गरेर अवकास लिने मेरो इच्छा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने गरी सुदृढ गरेर समृद्धिको बाटोमा अगाडि बढेको मुलुक नयाँ जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेर विदा हुने मेरो इच्छा छ ।’सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव छ- ‘मैले मेराविरुद्ध कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउनुभएका आरोपहरुको खण्डन गरेको छु, तिनलाई अस्वीकार गरेको छु । म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ ।’

कमेन्ट गर्नुहोस्