
१० मंसिर, काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए ।बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन् । मन्त्रालयको प्रस्ताव बैठकको लिखित कार्यसूचीमा राखिएकोे थिएन ।क्याबिनेटले ठाडो प्रस्तावका आधारमा उचाइ घोषणा गर्न स्वीकृति दिइएको छ । यद्यपि सगरमाथाको उचाइ कति छ भन्ने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन ।
स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले अहिले सार्वजनिक नगरिएको हो ।अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ । मन्त्रालयले पनि केहीदिनमै औपचारिक कार्यक्रममार्फत सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताएको छ ।मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने बताए ।
सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाई मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर क्याबिनेटले उचाई सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको हो ।सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।
कमेन्ट गर्नुहोस्