
२४ कात्तिक, काठमाडौं । केभिन डे ब्रुएनाले पेनाल्टी गुमाएपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लिभरपुलसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थितिमा बराबरी गोल फर्कायो तर डे ब्रुएनाले पेनाल्टी चुकाउँदा जित हात पार्ने अवसर गुमायो ।खेलको १३औं मिनेटमा मोहमद शालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिटीका केल वाल्करले साडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो र सालाहले सहजै गोल गरे । तर उक्त अग्रता लामो समय टिकेन । ३१औं मिनेटमा गाब्रीएल जेससले सिटीका लागि बराबरी गोल फर्काए ।४२औं मिनेटमा सिटीले अग्रता लिने अवसर गुमायो । भिएआर मार्फत लिभरपुलका जोसेफ गोमेजले पेनाल्टी एरियामा बल ह्याण्ड गरेको पुष्टि भएपछि सिटीले पेनाल्टी पायो । तर डे ब्रुएनाको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा फर्कने अवसर भने गुमायो । ८ खेलबाट १७ अंक जोडेको लिभरपुल टोटनहम समान अंक भए पनि गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ । सिटी ७ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।वेष्टब्रोमलाई १-० ले पराजित गरेको टोनहम दोस्रो स्थानमा छ । वल्भसलाई १-० ले पराजित गरेको लेस्टर सिटी ८ खेलबमट १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग ३-० ले पराजित भएको छ । एस्टनभिल्लाका लागि ओली वाट्किन्सले दुई गोल गरे भने आर्सनलका बुकायो साकोले एक आत्मघाती गोल उपहार दिए । जितपछि एस्टनभिल्ला ७ खेलबाट १५ अंक जोड्दै छैटौं स्थानमा छ । आर्सनल ८ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।
कमेन्ट गर्नुहोस्