
काठमाडौं । शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन रहित(क्लिनफिड) लागू हुने भएको छ ।सरकारले कात्तिक ७ गते (भोली) देखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरे । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिन देखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरे ।२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले जानकारी दिए ।
मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए ।डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्य क्लिनफिड लागु भएपछि विदेशी च्यानलहरु ग्राहकले हेर्न नपाउने बताए ।‘क्रिकेटप्रेमीहरुले रुचाउने आइपीएल क्लिनफिड लागु भएपनि नेपालमा हेर्न पाइने छैन,सरकारले एकतर्फी रुपमा लागु गर्दा उपभोक्ताले ति च्यानल हेर्न पाउने छैनन्,’आचार्यले भने ।
केवल व्यवसायी डिटिएच सेवा प्रदायकले कोभिडको कारण क्लिनफिड लागु गर्ने समय पर पार्न माग गरेका थिए । कानून अनुसार भने राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेको कात्तिक ७ देखि क्लिनफिडको नीति कार्यान्वयन हुने थियो ।सरकारले व्यवसायीले गरेको आग्रह भने अस्वीकार गरेको थियो । विज्ञापन व्यवसायीले क्लिनफिड लागु भएपछि नेपालमा विज्ञापन व्यवसाय बढ्ने बताउदै आएका छन् ।डिटिएच व्यवसायीहरु भने क्लिनफिड ल्याउन आफुहरु लागेपनि नीतिगत अस्पष्टता रहेको र सरकारले कोभिडको असरलाई समेत ध्यान नदिएको हुँदा सो दिनदेखि क्लिनफिड नभएका विदेशी च्यानल बन्द हुने बताउँछन् ।
कमेन्ट गर्नुहोस्