
तिलोत्तमा।कपिलवस्तु नगरपालिका–८ निवासी विद्यावती कोरी २०८१ साल असार ११ गते बच्चा जन्माउन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) पुग्छिन् । असार १२ गते उनको शल्यक्रिया भयो । परिवारका अनुसार बच्चाको अवस्था जन्मेदेखि नै जटिल रहेकाले तत्काल एनआईसीयूमा राखियो । उपचारकै क्रममा ३–४ दिनपछि शिशुको मृत्यु भयो ।
त्यसपछि असार १६ गते विद्यावतीलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगियो । सुरुका केही महिनासम्म शल्यक्रियापछि हुने सामान्य दुखाइ र असहजता बाहेक ठूलो समस्या देखिएन । परिवारले पनि त्यसलाई सामान्य अवस्थाकै रूपमा लिएको थियो ।तर समय बित्दै जाँदा उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो । बारम्बार पेट दुख्ने, बान्ता हुने, खाना नपच्ने, भोक नलाग्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिन थाले । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सुरुमा स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरायो । औषधि सेवन गर्दा केही समय सहज भए पनि समस्या पूर्ण रूपमा समाधान भएन ।
उपचारका लागि विभिन्न अस्पताल धाउनुपर्यो
समस्या बढ्दै गएपछि परिवारले तौलिहवा र बुटवलका अस्पतालहरूमा उपचार गरायो । तर पनि स्वास्थ्यमा सुधार आएन । बुटवलमा गरिएको इन्डोस्कोपी परीक्षणमा पेट तथा आन्द्रामा घाउ देखिएको बताइयो । चिकित्सकहरूले थप कारण पत्ता लगाउन सीटी स्क्यान गर्न सुझाव दिए ।
नेपालमा थप उपचार खर्चिलो हुने अनुमानपछि परिवारले भारतको गोरखपुर लैजाने निर्णय गर्यो । गोरखपुरको अस्पतालमा भर्ना गरी सीटी स्क्यान तथा अन्य परीक्षण गरियो ।परिवारका अनुसार त्यहाँका चिकित्सकहरूले परीक्षण रिपोर्ट हेरेपछि पहिले गरिएको सिजेरियन शल्यक्रियासँग सम्बन्धित समस्या हुन सक्ने आशंका व्यक्त गरे । उनीहरूले अघिल्लो अप्रेसनका क्रममा पेटभित्र कुनै वस्तु छुटेको हुन सक्ने सम्भावना औंल्याउँदै पहिले शल्यक्रिया गरिएको अस्पतालमै गएर थप परामर्श लिन सुझाव दिए ।
पुनः भैरहवा मेडिकल कलेजमा भर्ना
गोरखपुरबाट प्राप्त रिपोर्टहरू लिएर परिवार पुनः युनिभर्सल कलेज अफ मेडिकल साइन्स पुग्यो । अस्पतालले ती रिपोर्ट अध्ययन गरी विद्यावतीलाई जेठ २७ गते भर्ना गरेको परिवारको भनाइ छ ।परिवारका अनुसार अस्पतालले आफ्नै परीक्षण तथा स्क्यानहरू गरायो । तर ती परीक्षणको नतिजा स्पष्ट रूपमा परिवारलाई उपलब्ध गराइएन । त्यसपछि चिकित्सकहरूले बिरामीको अवस्था जटिल रहेको भन्दै शल्यक्रिया आवश्यक रहेको बताए ।असार १ गते विद्यावतीको पुनः शल्यक्रिया गरियो । करिब ६–७ घण्टासम्म चलेको उक्त शल्यक्रियापछि उनको अवस्था अझ गम्भीर बनेको बताइयो । उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार कक्षमा उपचार गराइयो ।तर शल्यक्रियाको दुई दिनपछि, असार ३ गते बिहान अस्पतालले विद्यावतीको मृत्यु भएको जानकारी परिवारलाई दियो ।
परिवारको आरोप : ‘पेटबाट के निकालियो भन्ने जानकारी दिइएन’
विद्यावतीका जेठाजु पारसराम कोरीका अनुसार शल्यक्रियापछि परिवारले बारम्बार पेटबाट के निकालियो, वास्तविक समस्या के थियो र मृत्युको कारण के हो भनेर सोध्दा स्पष्ट जानकारी दिइएन ।उनका अनुसार अस्पतालले परीक्षण रिपोर्टहरू समेत परिवारलाई उपलब्ध गराएन। भारतबाट ल्याइएका केही कागजातहरू पनि अस्पतालले फिर्ता नदिएको परिवारको आरोप छ ।परिवारले अस्पताललाई गम्भीर आरोप लगाएको छ । सुत्केरी भएको बेला शल्यक्रिया गर्दा सर्जिकल स्पन्ज छुटेको र त्यो अहिले निकालिएको दावी परिवारको छ । उक्त स्पन्जका कारण लामो समयसम्म शरीरभित्र संक्रमण फैलिएको र त्यसले आन्द्रा, पेट तथा अन्य अंगहरूमा गम्भीर असर पारेको उनीहरूले बताएका छन् ।मृत्युपछि परिवारले प्रहरीलाई खबर गरी घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको थियो । न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएपछि शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर पोस्टमार्टम गरिएको थियो । परिवारका अनुसार अस्पताल व्यवस्थापनले उपचार खर्च तथा थप रकम दिने प्रस्ताव गरेको भए पनि उनीहरूले आर्थिक क्षतिपूर्तिभन्दा न्याय र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
अस्पतालको भनाइ : छानबिनअघि निष्कर्षमा पुग्न मिल्दैन
युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रवक्ता सुशील गुरुङले घटनालाई अस्पतालले गम्भीर रूपमा लिएको बताएका छन् ।उनका अनुसार बिरामीको मृत्युबारे अस्पताल प्रशासनलाई औपचारिक जानकारी प्राप्त भएपछि तत्काल आन्तरिक छानबिन समिति गठन गरिएको छ । वरिष्ठ चिकित्सक तथा प्राध्यापक डा. मनोर जोशीको संयोजकत्वमा गठित समितिले घटनाको बारेमा अध्ययन गरिरहेको छ ।उनले बिरामीको सम्पूर्ण उपचार इतिहास, शल्यक्रिया प्रक्रिया, परीक्षण प्रतिवेदन तथा पोस्टमार्टम रिपोर्ट अध्ययन नगरी चिकित्सकीय लापरबाही भएको वा नभएको निष्कर्ष निकाल्न नमिल्ने बताए ।गुरुङका अनुसार पोस्टमार्टम प्रतिवेदन सम्बन्धित सरकारी निकाय र फरेन्सिक टोलीसँग रहने भएकाले उक्त प्रतिवेदन प्राप्त नभएसम्म मृत्युको वास्तविक कारणबारे अस्पतालले आधिकारिक धारणा सार्वजनिक गर्न सक्दैन ।उनले अस्पतालले कानुनी प्रक्रिया तथा अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको र छानबिन प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिइने बताए ।
पोस्टमार्टम र छानबिन प्रतिवेदनको प्रतीक्षा
यो घटनालाई वर्षा भण्डारीले आफ्नो टिकटक अकाउन्ट मार्फत सार्वजनिक गरेपछि निष्पक्ष छानबिन र कारबाहीको माग गर्नेहरूको संख्या बढेको छ।यो घटनाले नेपालमा चिकित्सकीय लापरबाही, बिरामीको सूचनाको अधिकार, अस्पतालको जवाफदेहिता र उपचार प्रक्रियाको पारदर्शितामाथि गम्भीर बहस सुरु गराएको वर्षा भण्डारीले बताइन् ।हाल घटनाको वास्तविकता पोस्टमार्टम प्रतिवेदन, अस्पतालको आन्तरिक छानबिन तथा सम्भावित कानुनी अनुसन्धानबाट मात्र स्पष्ट हुने देखिन्छ । परिवारले दोषीमाथि कारबाही र न्यायको माग गरिरहेको छ भने अस्पतालले निष्पक्ष छानबिनपछि मात्र निष्कर्षमा पुग्न सकिने बताइरहेको छ ।
कमेन्ट गर्नुहोस्