लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरु भयो मगर समुदायको भूमे पर्व

IMG

काठमाडौँ, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व सोमबारबाट काठमाडौँमा सुरु भएको छ ।


भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ ।  नेपाल मगर सङ्घले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो । मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् ।


स्थानीय मगर खामरपाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्त्वका साथ मनाइन्छ । पछिल्लो समय बसाइसराइको क्रम बढेपछि दाङ, काठमाडौँलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ । यस पर्व असार एक गते मनाइने भएपनि मगर समुदायमा यसको तयारी एक महिना अघिदेखि नै हुन्छ । जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरू बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बिच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । 


पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ। फूल लिएर फर्कने क्रममा महिलाहरूले न्याउली चराको भाकामा गीत गाउँदै फर्किन्छन् । फूल लिन गएकाहरू फर्किएपछि गाउँमा भूमि देवताको पूजा गरी औपचारिक रूपमा भूम्या पर्वको उद्घाटन गरिन्छ ।


भूमे पूजामा भेंडा, बोका, कुखुरा, सुङ्गुरलाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाहरूले नाङ्लो (सुपो)मा ध्वाँसो, खरानी, दशैँको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ । भूम्या नाच २२ चालामा नाचिन्छ तर अहिले यो नाच  कतै १४ त कतै ९ चालामा नाच्ने गरिन्छ । 

कमेन्ट गर्नुहोस्