
काठमाडौँ, जेठ ३१ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गरिएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित 'राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३' लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले युवा पलायनको विद्यमान अवस्थालाई चिर्न सरकारले ठोस योजनासहित जग बसालेको र आगामी पाँच वर्षभित्र यसलाई निष्कर्षमा पुर्याइने स्पष्ट पार्नुभयो ।
"पछिल्लो डेढ-दुई दशकदेखि नेपाली युवा आफ्नो भविष्य खोज्दै विदेशिनु परिरहेको बाध्यता हाम्रासामु छ," अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, "अब त्यस्तो स्थिति सधैँ रहन नदिन आगामी वर्षको बजेटमार्फत नयाँ सुरुवात गरेका छौँ । बजेटको प्रभावकारी कार्यान्वयनले युवाहरूलाई स्वदेशमै अवसर दिने बाटो समात्ने छ ।" देशभरबाट सहभागी युवा उद्यमीलाई सम्बोधन गर्दै उहाँले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका व्यवसायीलाई छुट, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ मार्गचित्र कोर्ने दाबी गर्नुभयो । युवाहरूको उद्यमशील सोच र योजनालाई प्रोत्साहन गर्ने गरी बजेटमा धेरै कार्यक्रम समेटिएको उहाँको भनाइ थियो ।
करको दरहरूमा परिमार्जन गरी न्यून आय भएका तथा सुरुवातका चरणमा रहेका युवा उद्यमीलाई करको झन्झटबाट मुक्ति दिइएको चर्चा गर्दै अर्थमन्त्री डा. वाग्लेले करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ ढङ्गले व्यवसाय अघि बढाउन बजेटले सहुलियतपूर्ण घोषणा गरेको र त्यसको फाइदा लिन आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस्