
तिलोत्तमा। रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले जित हासिल गरेका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् ।यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत पाएका छन् । यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो ।तिलोत्तमा-७ भलवारी घर भएका सुनिल पेशाले आइटी इन्जिनियर हुन।
रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित भएका ई. सुनिल लम्सालले सबैलाई धन्यवाद दिदै यसो भनेका छन … रुपन्देही क्षेत्रनम्बर १ का आदरणीय मतदाताज्यूहरूलाई लाई हार्दिक धन्यवाद । प्रतिनिधि सभा निर्वाचनमा हामीलाई दिनुभएको विश्वास, समर्थन र माया प्रति हामी हृदयदेखि आभार व्यक्त गर्दछौ ।देशमा व्याप्त भ्रष्टाचार, गैरजिम्मेवारीपन, बेरोजगारी र प्रशासनिक काममा हुने ढिलासुस्तीको अन्त्य गर्न हामी हदसम्मको कठोरता अपनाउनेछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अब काठमाडौँमा मात्र होइन, आफ्नै निर्वाचन क्षेत्रमा बसेर जनतामाझ रहँदै काम गर्नेछन्। नागरिकको दैनिक जीवनसँग जोडिएका सार्वजनिक सेवाहरूलाई चुस्त–दुरुस्त बनाइ राज्यले सुनिश्चित गरेका अधिकारहरू छिटो, प्रभावकारी र सम्मानजनक ढंगले उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ।यो निर्वाचन Gen Z आन्दोलनको जगमा भएको परिवर्तनको संकेत पनि हो। त्यस आन्दोलनका सहिदहरूलाई सम्झँदै हामी कुनै उत्सव वा अबिर यात्रा गर्ने छैनौँ। जनताको मतले निर्वाचित भएको यो क्षणलाई हामी जिम्मेवारीका रूपमा लिँदै तुरुन्तै जनतामाझ पुगेर काम सुरु गर्नेछौँ।म तपाईंहरूको प्रतिनिधि भएकोले म तपाईंहरूमाझ नै बसेर, तपाईंहरूकै साथ र सहयोगमा देशलाई सुशासनको बाटोमा अगाडि बढाउने वाचा गर्दछु।
कमेन्ट गर्नुहोस्