
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडावडाका किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।नगर कार्यपालिकाको बजेट नीति तथा कार्यक्रम अनुसार नगरपालिकाभित्रका किसानलाई २० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो।
नगरपालिकाले टिकुलिगढमा वडाका अनुदानको लागि प्रस्ताव पेस गरेका सबै किसानलाई अनुदानमा बिऊ व्यवस्था मिलाइएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। नगरपालिकाले कृषि शाखाको संयोजनमा सोमबार वडा स्तरीय कृषि समिति सञ्जालको व्यवस्थापनमा किसानलाई उपस्थित गराई नगरप्रमुख रामकृष्ण खाण , वडा अध्यक्ष आश्विन पौडेल, वडा सदस्य भुपालसिंह छन्तेल, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत राम प्रसाद खनाल, सौरभ बस्ताकोटी लगायतको उपस्थितिमा किसानको माग अनुसारका प्याकिङ्ग बोरा बिउ उपलब्ध गराईएको हो।
गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले किसानका समस्या समधानका लागि आफुले सक्दो प्रयास गर्ने र उत्पादनलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने गरि कृषिका विभिन्न उत्पादनलाई अगाडी बढाउन सबै किसानले उर्जाशील भएर कार्य गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले किसानलाई धनी बनाउन कृषिमा आधुनिककरण ल्याउनुपर्ने भन्दै त्यसका लागि औजार उपकरण तथा कृषि सामग्रीमा अनुदान बढाउँदै लगिने बताउनुभयो। नगरपालिकाले किसानको मागलाई ध्यानमा राखी उनीहरुले सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो। सो कार्यक्रममा बोल्दै नगर वडा अध्यक्ष आश्विन पौडेलले किसानको हरेक समस्यासंग आफु परिचित भएकाले समस्या समाधानका लागि सबै मिलेर सुझाव संकलन गरि अघि बढ्ने बताउनुभयो। उहाँले तिलोत्तमालाई गहुँ मात्र नभएर कृषि उत्पादनमा आत्मनिर्भर गराउन सबैको पहल आवश्यक रहेको बताउनुभयो।
तिलोत्तमा नगरपालिकामा जम्मा ८४,४५० किलो गहु वितरण भएको छ भने वडा नम्बर-१४ मा मात्रै १०,९६० किलो गहुँको बिऊ वितरण भएको कृषि शाखा प्रमुख भुसालले जानकारी दिनुभएको छ। वितरित गहुँको बिउमा खरिद मूल्यको २०% अनुदान रहेको छ। सो अनुदानको बिऊ बितरण कार्यक्रम सञ्चालन वडा सदस्य भुपालसिंह छन्तेलले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्