
तिलोत्तमा। तिलोत्तमा नगरपालीकाले सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीका लागि च्यालेन्ज फण्ड तथा सोधपत्र लेखनमा आर्थिक सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । विद्यार्थीहरुको सामाजिक, सांस्कृतिक, प्राविधिक क्षेत्रमा नविनतम कार्यक्रम एवम् नेतृत्व विकासका लागि आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार च्यालेन्ज फण्ड कार्यक्रम संचालन गर्न प्रति समुह अधिकतम १० हजार उपलब्ध गराइने सामाजिक विकास समिति संयोजक रवी सेन्चुरीले जानकारी दिए ।
च्यालेन्ज फण्डमा सहभागि हुनका लागि विज्ञान प्रविधि, जनचेतना, अभिमुखिकरण, आयआर्जन तथा साहित्य कला सम्बन्धी विषयमा विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। एक विद्यालय वा क्याम्पसबाट ३ देखि ७ जना विद्यार्थी संलग्न भई फण्ड अन्तर्गतको कार्यक्रम गर्न पाउने उनले बताए ।त्यस्तै, सोधपत्र लेखनका लागि प्रति विद्यार्थी १० हजार रुपैयां छुट्याइएको सेन्चुरीले जनाए । नगरभित्र रहेका विद्यार्थीले अध्ययन, अनुसन्धान मार्फत सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र प्राविधिक विकासका लागि यो आर्थिक वर्षमा १० जना विद्यार्थीले पाउनेगरी कार्यक्रम संचालन गरिने शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।
उनले नगरभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थी स्नातक तथा स्नातकोत्तर तहमा अन्तिम वर्ष वा अन्तिम सेमेष्टरमा नियमित रुपमा पढ्दै गरेको हुनुपर्ने उनले जनाए । सोधपत्र लेखनका लागि विज्ञान तथा प्राविधिक क्षेत्र बाहेक अन्य विषयको अध्ययन क्षेत्र तिलोत्तमा नगरपालीका केन्द्रित हुनुपर्ने आचार्यले बताए । उनका अनुसार ०८२/८३ मा उक्त कार्यक्रमका लागि ३ लाख बजेट विनियोजन गरिएको छ ।
कमेन्ट गर्नुहोस्