लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ड्रिलिङ गरिँदै

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख २३ गते । दैलेखमा खानी तथा भूगर्भ विभागले अध्ययन सुरु गरेको ४१ वर्षपछि पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सुरु हुँदै छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणको काम भइरहेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइतबार ६ महिनाभित्र नतिजा दिने गरी अन्वेषणका लागि ड्रिलिङको उद्घाटन गर्दै छन् । 


भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे टोलीले खानी अन्वेषणका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । २० हजार २० वर्गकिलोमिटर क्षेत्रमा गरेको सर्भेका आधारमा ड्रिलिङ गरिने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए । ०४० सालमा सम्भाव्यता अध्ययन सुरु गरेको विभागले ०७२ सालदेखि उत्खननको तयारीलाई तीव्रता दिएको थियो ।


जलजलेको पञ्चकोशी क्षेत्रमा सयौं वर्षदेखि निरन्तर बलिरहेको ज्वाला मिथेन ग्यास रहेको प्रमाणित भएको १३ वर्षपछि उत्खनन तथा अन्वेषण हुन लागेको हो । अन्वेषण ड्रिलिङको काम सकिएको ६ महिनाभित्रमा पेट्रोलियम पदार्थको परिमाण र गुणस्तरबारे यकिन हुनेछ । अन्वेषणको काम चिनियाँ कम्पनी चाइना न्यासनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) अन्तर्गर्तको सिबु ड्रिलिङ एन्ड इन्जिनियरिङ कम्पनीले गर्न लागेको परियोजना प्रमुख नापितले बताए ।


अहिले २१ जना चिनियाँ प्राविधिक र ४६ जना नेपाली अन्वेषणस्थलमा खटिएका छन् । तीन हजार ५ सयदेखि ४ हजार मिटरसम्म जमिनमुनि ड्रिल गरिन लागेको हो । ‘ड्रिलिङपछि व्यावसायिक रूपमा निकाल्न मिल्छ या मिल्दैन थाहा हुन्छ । ड्रिलिङ त पहिला पनि भएको छ,’ उनले भने, ‘यो अन्वेषणबाट तेल छ वा ग्यास छ भन्ने पत्ता लाग्छ ।’ ०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) भएको थियो । सन् २०१७ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आउँदा पेट्रोलियम तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सम्झौता भएको थियो ।


२०१९ फेब्रुअरी २८ मा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच अन्वेषणको काम अघि बढाउने सम्झौता भएको थियो । अहिलेसम्म चिनियाँ टोलीले पेट्रोलियम पदार्थ भए नभएकोबारे यस क्षेत्रका १० वटा लाइनमा गरेको सर्भे रिपोर्ट सकारात्मक आएपछि आयोजनाको काम अघि बढाएको हो ।


अन्वेषणका लागि भैरवी–१ स्थित जलजलेमा ४५ रोपनी जमिन अधिग्रहण गरिसकेको छ । अन्वेषण क्षेत्रका २७ घरपरिवारलाई प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरेर खानी तथा भूगर्भ विभागको नाममा लालपुर्जा आइसकेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सन् २०१९ देखि काम सुरु भए पनि कोभिड महामारीले दुई वर्ष काम रोकिएका कारण अन्वेषणमा ढिलाइ भएको परियोजना कार्यालयको भनाइ छ ।


‘हामीले दैलेखका श्रीस्थान, नाबिस्थान, पादुका र कोटिलाका चार स्थानका नमुना संकलन गरेर परीक्षण गरिसकेका थियौं,’ प्रमुख नापितले भने, ‘सतहमा भएको जियोकेमिकल, जियोलोजिकल, चट्टानहरूको नमुना, ग्यासको नमुनाको परीक्षण गरेर सतहमुनि ५ किमि तलको भौगर्भिक संरचना, चट्टानको चटायर, पेट्रोलियम पदार्थ, ग्यास हुन सक्ने सम्भावनाबारे पत्ता लगायौं ।’ अबको चरणमा विस्तृत रूपमा परिमाण र गुणस्तरबारे यकिन गरिने उनले बताए । अन्वेषणका लागि चीन सरकारले अढाई अर्ब लगानी गर्ने र नेपाल सरकारले मुआब्जाबापतको ९६ लाख बेहोर्ने परियोजनाले जनाएको छ । जमिनको उपलब्धता र मुआब्जा रकमबाहेक सबै खर्च चीन सरकारको रहेको परियोजना प्रमुख नापितको भनाइ छ ।


परियोजना सुरु हुँदा भौगर्भिक तथा पेट्रोलियम सर्भे र ड्रिलिङ गर्ने क्षेत्रको पहिचान गर्न १० महिना लाग्ने उल्लेख थियो । तर यो काम चार वर्षसम्म पनि सकिएको छैन । ड्रिलिङको काम सकिन ११ देखि १८ महिना लाग्ने भएकाले आगामी चैतसम्म म्याद थपिएको परियोजना प्रमुख नापितले बताए ।


सुर्खेतबाट दैलेखसम्मको ६७ किमि सडक साँघुरो भएकाले चीनबाट भारतको रुपैडिया नाका हुँदै १ सय ५० वटा ट्रकमा ल्याइएका ठूला उपकरण बल्लतल्ल अन्वेषण स्थलमा पुर्‍याइएको छ । सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमि छ । उपकरण ढुवानीका लागि कर्णाली र मध्यपहाडी लोकमार्गको ९० किमि पार गरेर उपकरण जलजले पुर्‍याइएको हो । अन्वेषणको काम सुरु हुन लाग्दा स्थानीय उत्साहित भएका छन् । बगेर खेर गइरहेको पेट्रोल खानीमा परिणत हुने आशा जागेको भैरवी–१ का रामबहादुर थापाले बताए । आयोजना सुरु भए स्थानीयले गाउँमै रोजगारी पाउने अपेक्षा गरेका छन् ।

कमेन्ट गर्नुहोस्