लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

tillotmacitynews - 2024 Jan 10 01:37 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुस २५ गते । तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । बुधबार बिहान ९ः३० बजे भीमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाँउ–भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नं.को जिप सडकदेखि करिब १५० मिटर मिटर तल खोलामा खसेको थियो । जिपमा चालकसहित १२ जना यात्रु सवार थिए । घाइते १२ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाडले बताउनुभयो ।


घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकामध्ये जिपमा सवार नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–२ बस्ने वर्ष ४२ को रुमबहादुर विक र सोही ठाउँका वर्ष ५५ का जेमलाल दरैको उपचारको क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । खाडका अनुसार गण्डकी अस्पताल पोखरामा उपचार भइरहेका घाइतेहरूमा स्याङ्जाको चापाकोट नगरपालिका–६ बस्नेहरू वर्ष ३२ की रेनु थापा, वर्ष ६ की रनिसा थापा, शुक्लागण्डकी नगरपालिका–६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका–२ बस्ने वर्ष २७ की पूजा सारू, भिमाद नगरपालिका–३ बस्ने वर्ष ६२ को दण्डपाणि रिजाल, घिरिङ गाउँपालिका–४ बस्ने वर्ष ५० को तिखे थापा हुनुहुन्छ ।


यसैगरी, जिपिमा उपचाररत घाइतेहरूमा नवलपुर जिल्लाको वौदिकाली गाउँपालिका–२ बस्ने वर्ष ४० को हरि ओझा, पाल्पाको  निस्ति गाउँपालिका– १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, स्याङ्जाको चापाकोट नगरपालिका–७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेल र पाल्पा जिल्लाको रामपुर नगरपालिका–७ बस्ने वर्ष ३१ को लक्ष्मण पङ्गेनी हुनुहुन्छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्