
तिलोत्तमा सिटी,१७ मंसिर २०८०।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयां प्रोत्साहन पुरस्कार दिनेगरि सरकारले कार्यक्रम ल्याउन थालेको बताएका छन् ।
नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा ) लुम्बिनी प्रदेशको प्रतिनिधि मण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री किरातिले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरि गृहकार्य भइरहेको बताएका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई ईनाम स्वरुप ५ लाख प्रत्येक उडानको दिने तयारि गर्दैछौं’–मन्त्री किरांतीको भनाई उद्धृत गर्दै नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिको संयोजक सन्जिव जोशीले अनलाइनखबरलाई जानकारी दिए ।
मन्त्री किरांतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा रहेको भन्दै सरकारी ब्यवस्थापनमा समस्या भएमा निजि क्षेत्रसँग सहकार्य गरेर भएपनि उडान नियमित गर्ने प्रतिवद्धता जनाएका जोशीले जानकारी दिए ।राज्यको ४३ अर्ब भन्दा बढी लगानी भएको गौतमबुद्ध विमानस्थल र विमानस्थल देखेर ६५–७० अर्ब लगानी गरेको निजि क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत मन्त्री किरांतीले व्यवसायीसंग बताएका थिए ।
मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातयात समन्वय समितिको संयोजक सन्जिव जोशिले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनि तत्काल गर्न माग गरेका थिए ।नाट्टा लुम्बिनीको तर्फबाट ९ बुदे ज्ञापनपत्र बुझाउंदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल बायुसेवा निगमको जहाजले थालनि गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए ।
कमेन्ट गर्नुहोस्