लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुकुम पश्चिमका भूकम्प पीडित भन्छन् : हामीलाई खोज्दै केही आएका छैनन्

tillotmacitynews - 2023 Nov 05 11:21 AM
IMG

तिलोत्तमा सिटी, १९ कात्तिक २०८० । शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिममा सबैभन्दा क्षति पुगेको गाउँ हो, आठविसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ ।भूकम्पले यो गाउँमामात्रै स्थानीय ५ जना र बाहिरका ६ जना गरी ११ जनाले ज्यान गुमाए । मर्ने तर मरेर गइहाले मुस्किलले जोगिएकाहरु पनि बाँकी जीवन बाँच्न संघर्ष गरिरहेका छन् । भूकम्पले यहाँका अधिकांश घरहरु भत्किएका छन् । स्थानीयका अनुसार यो गाउँमा ४० घरधुरी छन् । तीमध्ये केही घरमात्रै बचेका छन् । बचेका ती घर पनि बस्न नमिल्ने गरी चर्किएका छन् । यही छेपारी गाउँकी गोसमती पुन त्यो कहालीलाग्दो रात सम्झिन चाहन्निन् । उनको घर पूर्णरुपमा भत्किएको छ । श्रीमान र दुई छोरासहित ज्यान भने जसोतसो जोगिएको छ । संयोगले बचेको यही ज्यानलाई जोगाइराख्ने कसरी भन्ने चुनौती छ । ‘भूकम्प आउँदा घरमा श्रीमान्, दुई छोरा र म थियौं । राति सुतेको बेला भूकम्पले घर पूरै भत्कियो । आधा घण्टासम्म घरभित्रै च्यापियौं । पछि गाउँका मान्छे आएर बाहिर निकालेर बाच्यौं, नत्र त मर्ने थियौं,’ उनले त्यो क्षण सम्झिइन् ।


उनी, उनको श्रीमान्, दुई छोरा सामान्य घाइते छन् । ‘शरीरभरि चोटैचोट छ, के भयो, कसो भयो सोच्नै सकेको छैन,’ उनले भनिन् । भूकम्पले घर भत्किएर गुमेको पीडा त छँदैछ, त्यसमा पनि भोकै रात बिताउनु परेको छ । कतै सहयोग माग्न जाउँ, अरु पनि उनीहरु जस्तै बास र आफन्तको सास गुमाएको पीडामा छन् । त्यसैले गएको रात भोकै बिताउनुको विकल्प उनलाई भएन । ‘हाम्रोजस्तै गाउँमा सबैका घर भत्किए, खाने–लगाउने कुरा सबै घरभित्रै पुरियो,’ उनले भनिन्, ‘यहाँ खाने केही छैन । भोकभोकै रात बितायौं ।’


छेपारे गाउँकै २५ वर्षीया निर्मला शर्मा दुई बच्चासहित घरमा सुतेको बेला घर भत्कियो । भूकम्पले च्यापेको आधा घण्टापछि घर छेउँकै दुई जना आएर बचाए । काखमा च्यापेर पाँच वर्षको छोरा र ११ वर्षकी छोरीलाई बचाइन् । ‘भूकम्पले घर खाइदियो, काखमा च्यापेर बालबच्चा चाहिँ बचाएँ,’ आँसु पुछ्दै उनले भनिन् । घर भत्किएपछि उनले पनि गाउँकै अरु मान्छेले जस्तै भोको पेट दुई बच्चासहित खुला आकाश मुनि चिसो रात बिताएको बताइन् ।


पीडितको गुनासो


घर भत्किएपछि खानेकुरा पनि त्यहीँ पुरिए । घर भत्किएकी टीका जैशीका अनुसार भूकम्पपछि गाउँमा कोही बाँकी छैन । ‘सुत्ने ठाउँ पनि छैन । हामीसँग खाने कुरा केही छैन, बस्न पनि केही छैन’, उनी भन्छिन्, ‘तर अहिलेसम्म पाल लिएर पनि कोही आएन । बाहिर चिसोमै रातमै बितायौं ।’ संयोगले बाचेका स्थानीयहरुलाई आफ्नो घरमात्रै हैन, गाउँ नै तहसनहस भएको पीडा छ । त्यसमा पनि अहिलेसम्म स्थानीय जनप्रतिनिधि आफूहरुलाई खोज्दै नआएको गुनासो गर्छन् । ‘भूकम्पले हाम्रो बसै खाइदियो, भोकै बसेका छौं,’ जैशीले भनिन्, ‘तर हामीलाई खोज्दै केही आएका छैनन् ।’

कमेन्ट गर्नुहोस्