लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समयमा अस्पताल नआउने चिकित्सक तथा कर्मचारीलाई कारबाही

tillotmacitynews - 2023 Jun 19 05:40 AM
IMG

तिलोत्तमा / असार ४ ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएका छन् ।


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षण अनुगमनपश्चात् आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर कार्यालयमा नबस्ने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।



निरीक्षणका क्रममा चिकित्सक, कर्मचारीहरु कार्यकक्षमा नभेटिएको भन्दै उनले भने, ‘कार्यालयमा काम नगर्ने भए घर बसे हुन्छ । बिरामी र सेवाग्राहीले सेवा पाउन रोकिनु हुँदैन ।’


कुन चिकित्सक कतिखेर भेट्न सकिन्छ भन्ने विषय खुलाएर सूचना जारी गर्दा बिरामीको चाप कम हुने उनको भनाइ थियो । अस्पतालमा भएका बिरामीको चाप कम गर्नतर्फ अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उनले बताए ।


अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री जोशीले अस्पतालभित्र हुने गरेको आर्थिक अनियमितता सञ्चालक समितिले रोक्नुपर्ने बताए । अस्पतालका विषयमा उठेका प्रश्नको समाधान गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । अस्पतालले दिँदै आएको सेवासुविधालाई अझै व्यवस्थित गर्न पनि उनले निर्देशन दिए ।


सो अवसरमा अस्पताल सुधारका विषयमा स्थानीय, अस्पतालका विभागीय प्रमुखहरु, अस्पताल प्रशासनलगायतसँग छलफल भएको थियो भने कार्यक्रममा अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. देजकुमार गौतम, उपनिर्देशक कृष्णसागर शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रमेश पौडेललगायतले बोलेका थिए ।


संघीय सरकार सँग समेत छलफल गर्ने वातावरण तयार गर्न आफू तयार रहेको कार्यक्रममा मन्त्री जोशीले बताए र  अस्पतालको गुरुयोजना अनुसार काम गर्नका लागि प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने बिश्वास दिए ।


कमेन्ट गर्नुहोस्