लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीमा क्षेत्रबाट ११ लाखको अवैध स्याउ नियन्त्रणमा

tillotmacitynews - 2023 May 19 06:19 AM
IMG

          तिलोत्तमा सिटी / जेठ ५ ।  स्याउको तस्करी सप्तरीबाट भारत तर्फ हुन लागेको आशंकामा अवैध स्याउ प्रहरीले बरामद गरेको छ । विगतमा जिल्लाको विभिन्न नाकाबाट स्याउसहितका सामग्रीको भारत तस्करी हुँदै आएकोमा पछिल्लो समय रोकिएको थियो ।


केही दिनयता बलान बिहुल गाँउपालिकाको बेल्ही नाकाबाट स्याउ तस्करी हुन थालेको भन्दै प्रहरीले कडाइ गरेको हो । बुधबार राति मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा बलानबिहुल गाउँपालिका ४ बेल्हीबाट ११ लाख रुपैयाँ बजार मूल्य पर्ने ३ सय ८५ कार्टुन स्याउ बरामद गर्दै नाकामा प्रहरीले निगरानी बढाएको हो । विगतमा सप्तरीबाट सुन, सुपारी र स्याउ तथा मटर, मरिच र मदिरा तस्करीका घटना सार्वजनिक भएका थिए ।


यसअघि पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ तस्करीका घटना सार्वजनिक भएका थिए । बुधबार राति प्रदेश प्रहरी कार्यालयको टोली आएपछि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत बलानबिहुल ४ बेल्ही गाँउ पुगेको थियो । बेल्ही नेपाल-भारत सीमामै पर्छ ।


स्थानीय सन्तोष यादवको घरमा स्याउ रहेको सूचनापछि बुधबार राति पुगेको प्रहरीले घरधनी नभएपछि रातभर घरलाई घेरा हालेर बसेको थियो । बिहीबार बिहान सटर खोलेर उक्त ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिइएको छ । स्थानीयहरूले भने स्थानीय प्रहरीकै संरक्षणमा स्याउ तस्करी हुने गरेको आरोप लगाएका छन् । स्याउका धनी कोही नआएको र स्याउको आधिकारिक बिलसमेत कसैले नदिएपछि प्रहरीले स्याउ नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।


प्रहरीकै संरक्षणमा स्याउको तस्करी हुने गरेको कुरा सत्य नरहेको एसपी कार्कीको दाबी छ । ‘विशेष सूचनापछि हामीले ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिएका हौ,’ एसपी कार्कीले भने, ‘तर तस्करीमा प्रहरीको संलग्नता भन्ने कुरा सत्य हैन ।’

कमेन्ट गर्नुहोस्