लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवन, बारा र तनहुँमा आजदेखि निर्वाचन आचारसंहिता

tillotmacitynews - 2023 Apr 07 11:11 PM
IMG

तिलोत्तमा,२०७९ चैत्र २४। प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।आउँदो वैशाख १० गते हुने चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ । 


प्रवक्ता पौडेलले उपनिर्वाचन हुने तीन जिल्ला चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने बताउनुभयो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको बताउनुभयो । 


उहाँले आचारसंहिता उल्लङ्घन भएको घटनाबारे उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाणसमेत संलग्न गरी उजुरी दिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।आचारसंहिता लागू हुने निर्णय गरेलगत्तै बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले सम्बन्धित व्यक्तिलाई भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन तथा कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस प्रकारको सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न÷नगराउन सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएको छ । 


यसअघि गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा १३० वटा उजुरी परेको थियो । जसमध्ये ४४ वटा उजुरीउपर कारबाही भएको बैठकमा जानकारी गराइएको थियो । आचारसंहिता उल्लङ्घनका घटनामा २० जनालाई जरिवाना गरिएको छ।तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिह्न प्रदान गरेको छ । वैशाख १० गते बिहान ७ बजेदेखि हुने मतदानको ४८ घण्टा अगाडि मौन अवधि सुरु हुनेछ । 

कमेन्ट गर्नुहोस्