
तिलोत्तमा, पौष ८, २०७९। नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ ।सर्वोच्च अदालतको गएकाे बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिकाे उडानबाट फ्रान्स पठाएको अध्यागमन विभागले जनाएको छ । शोभराजलाई अबको १० वर्ष नेपाल आउन नपाउने गरी फ्रान्स फिर्ता पठाएको विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले बताउनुभयो । शोभराज दोहा हुँदै भोलि शनिवार पेरिस पुग्ने उहाँले बताउनुभयो ।
शोभराज २०६० सालदेखि नेपालको जेलमा थिए । २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा २०६० सालमा पक्राउ परेका शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।पछिल्लो पटक शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो । ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको आदेशमा भनिएको छ ।
भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी २० जनाभन्दा धेरैको हत्यामा संलग्न भएको आरोप लागेका शोभराजले भारत र नेपालको जेलमा गरी २० वर्ष बिताएका छन् । भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत प्रभावमा पार्न पोख्त मानिने शोभराजलाई 'बिकिनी किलर', 'सिरियल किलर' र 'द सर्पेन्ट' उपनामले विश्वभर चिनिन्छ । शोभराजसँग जोसुकै मानिसलाई पनि भेटेको केही समयमै आफ्नो प्रभावमा पार्न सक्ने शक्ति भएको उनकाे मुद्दाकाे अनुसन्धान गरेका अधिकारीहरू बताउँछन् ।
कमेन्ट गर्नुहोस्