लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

tillotmacitynews - 2022 Dec 07 10:57 PM
IMG

तिलोत्तमा, २०७९ मङ्सिर २१ गते । दार्चुलाको खलङ्गा बजार नजिकै महाकाली नदीमा बनाएको अनधिकृत संरचना हटाउन भारत सहमत भएको छ । आज बुधवार भारतको धारचुलामा भएको नेपाल–भारत सीमा समन्वय समितिको बैठकमा भारतले महाकालीमा नदीमा बनाएका संरचना हटाउन र थप संरचना निर्माण नगर्न सहमति जनाएको हो ।भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि दुई देशका सुरक्षा अधिकारीहरूबीचको समन्वयात्मक बैठक बसेको हो । बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उहाँले बताउनुभयो ।


यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरले अनुगमन गर्ने पनि सहमति भएको छ । भारतले दार्चुलाको सदरमुकाम खलङ्गालाई नै जोखिममा पारेर संरचना बनाएको भन्दै सरकारले हिजो मङ्गलवार भारत सरकारलाई कुटनीतिक नोट समेत पठाएको थियो । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख गरिएकाे छ ।


बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करनसिंह धामी र भारतका तर्फबाट पिथौरागढ जिल्लाका प्रमुख रीना जोशी, तहशिल धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनी लगायतको उपस्थिति रहेको थियो ।भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी बाँध बनाउँदा खलङ्गा बजार जोखिममा परेको भन्दै अस्ति साेमवार स्थानीयवासीले विरोध गरेपछि भारतीय पक्षबाट ढुङ्गा प्रहार भएको थियो । त्यसपछि नेपाली पक्षले पनि ढुङ्गा हान्दा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्