
तिलोत्तमा, २०७९ कात्तिक ३० गते । २०७९ असोज २३ गते आइतवार, देवदहको शितलनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय मिडियाहरूको भिड लागेको थियो। सधै बुटवलमा केन्द्रित हुने संचारमाध्यमहरूको देवदह आकर्षणले स्थानियहरू चकित थिए। स्थानिय बौद्धिकहरू पनि शितलनगर वरिपरि झुम्मिएका थिए। सबैको एउटै पर्खाइ थियो - घनश्याम भुसाल। घनश्यामले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेद्वारी दिने र उनलाई सत्तारूढ गठबन्धनले समर्थन गर्ने सार्वजनिक भएपछी सबैको चासोको केन्द्र बनेको थियो - रुपन्देही क्षेत्र नम्बर १ ।दिनको ४ बजे उनी गठबन्धनका केहि नेता सहित निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरे। मनोनयन दर्ता गरेर बाहिरीएपछि मिडियालाई आफ्नो उम्मेद्वारीबारे प्रतिक्रिया दिए। लगत्तै उनीसंग तस्वीर लिन स्थानियहरूले उनलाई घेरा हाले। स्थानीयहरू उनीसंग यसरी झुम्मिए कि यस्तो लाग्थ्यो- उनलाई भेट्न र तस्वीर लिन उनीहरू बर्षौदेखि पर्खिरहेका थिए।दिनहरू बित्दै गए घनश्याम आफुलाई समर्थन गर्ने दल र ति दल निकट संघसंगठनका बैठक र भेलामा सहभागी भए।
उनी जहाँ पुगेर बोले त्यहाँ उनले आफ्नो प्रभाव छोडेरै फर्किए । सबैलाई उत्साहित र आशावादी बनाउन उनी सफल नै देखिए। संबिधानको र लोकतन्त्रको रक्षा, सुशासन, बेरोजगारी समस्या, कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन सबै जनसरोकारका सवालमा स्पष्ट ढंगले विषयबस्तु राख्न र बुझाउन उनले कुनै कसर बाँकी राखेनन्। विकासको नयाँ मोडेल, लोकतन्त्रमा व्यक्ति होइन, संस्था र कानुन सर्वोपरी हुनुपर्ने कुरा, स्थानिय तह र सामाजिक संघसस्थाहरूलाई स्रोत साधन सम्पन्न बनाउने र जिम्मेवार बनाउने जतिपनि कुरा उनले मतदातामाझ राखे। ति सबै गर्न सकिने र गर्नेपर्ने काम हुन् भन्नेमा उनले आफ्ना समर्थकलाई मात्र नभएर विपक्षीलाई पनि बुझाउन सफल भएको उनका प्रतिस्पर्धीका समर्थकले नै भन्दै आएका छन्।
भुसालले देशको पछिल्लो राजनितले विकासको भाष्य विगारेको तर्क गर्दै पानी जहाज, रेल, भ्यु टावर जस्ता नाराले नागरिकको जीवनयापनमा सुधार ल्याउन नसकेको र अहिलेकै अवस्थामा त्यो उपयुक्त नभएको कुरा बारम्बार दोहोर्याई रहे। सो क्रममा कतिपय अवस्थामा उनले नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे र राष्ट्रिय संचारहरू माध्यमले त्यसलाई प्रकाशन/प्रशारण गरे। आफुले साढे ४ दशक पसिना बगाएको पार्टी जसको नीति र कार्यादिशा कै खाका उनले कोरेका थिए तर त्यहि पार्टीमा आफ्ना कुरा सुनिन छाडेपछि पार्टी परित्याग गरेका उनले सो पार्टीका अध्यक्षको अलिअलि आलोचना गर्नु र उक्त आलोचनालाई राष्ट्रिय मिडियाले स्थान दिनु बाहेक उनले आफ्नो प्रतिस्पर्धामा रहेका उम्मेदवार कसैको पनि नाम लिएर वा संकेत गरेर कहीं पनि आलोचना गरेको सुनिएन।निर्वाचन अधिकृतको कार्यालयबाट त्रिभुज चिन्ह लिएर उनले सुशासन, विकास र संविधानको रक्षाका तिन कामको रूपमा त्यसलाई व्याखा गरे। र आजसम्म पनि उनी त्यसैमा अडिएका छन्। निर्वाचन चिन्ह प्राप्त गरेपछि घरदैलोमा मत माग्न जादा समेत उनले अन्य उम्मेदवारले भन्दा फरक शैली अपनाए। मतदातामाझ उनले ठुला योजना र विकासका कुरा पनि गरेनन। क्षेत्रको दक्षिण भागमा जादा उनले उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिको विकासमा काम गर्नुपर्ने र त्यसको लागि आफुले जिम्मेवारीपुर्वक पहल गर्ने बताए। कुनै उम्मेदवारको विपक्षमा कुरा गरेनन। उनले आफैलाई समेत भोट मागेनन। मात्रै गुनासा सुने र आफ्नो परिचय दिएर फर्किए। सो क्रममा स्थानिय बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्य बारे उनले अलि बढी नै चासो राखेको देखियो।
तर, भुसाल जव क्षेत्रको उत्तरी भेगमा घरदैलोमा देखिए, त्यहाँ उनले पर्यटन र मजबुत पुर्वाधार विकासको कुरा गरे। पूर्वाधारको विकास भएको तर व्यवस्थित हुन नसकेकोले व्यवस्थित गर्नुपर्ने र मजबुत बनाउनुपर्ने उनको विचार धेरैले मन पराएको पाइयो। त्यसैगरी उनले देवदहको विकासलाई लुम्बिनी प्रदेशको विकाससंग जोडेर हेर्नुपर्ने तर्क राख्दै त्यसको लागि राज्यले लगानी गर्नुपर्ने र आफुले पहल गर्ने प्रतिबद्दता व्यक्त गरे।देवदहलाई युनेस्कोमा दर्ताको लागि पहल गर्ने र त्यसो हुन सके लुम्बिनी र देवदहको विकास संगसंगै हुने उनको तर्कले देवदहलाई राष्ट्रिय चासोको केन्द्र बनायो । गौतम बुद्धको मावलीको रुपमा देवदह शास्त्रार्थ प्रमाणित भएको र त्यसको आधारमा बैज्ञानिक प्रमाणित गर्न सकिने आधार रहेको बताएका उनले देवदहको विकासमा नयाँ सम्भावनाको ढोका ढकढकाएका छन्, जुन यसअघि कुनै पनि नेता वा उम्मेदवारले बताएका थिएनन। त्यतिमात्र होइन उनले देवदहमा निर्माण हुँदै गरेको बौद्ध विश्वविद्यालयको महत्वलाई समेत यसरी व्याख्या गरिदिएका छन् कि ओझेलमा परेको विश्वविद्यालय पुन: चर्चामा आएको छ।
यसरी मनोनयन दर्तादेखि स्थिर समय (मौन अवधि) सम्म आईपुग्दा भुसालले आफुप्रतिको जनआकर्षण र उत्साहलाई कायम राख्न मात्रै सफल भएनन् कि राष्ट्रिय राजनीतिमा सधै चर्चामा रहने रुपन्देहीको बुटवल क्षेत्र (रुपन्देही-२) लाई पछाडी पार्दै क्षेत्र नम्बर १ देशकै चर्चित निर्वाचन क्षेत्र बन्न पुग्यो। यस क्षेत्रको चर्चासंगै घनश्याम भुसालको उम्मेदवारीले बुद्ध मावली क्षेत्र देवदह चर्चाको केन्द्रमा रह्यो र लुम्बिनी कै विकासको गतिमा देवदहको विकास हुनुपर्छ र त्यसले लुम्बिनी प्रदेशकै विकासमा टेवा पुर्याउछ भन्ने तथ्यलाई राष्ट्रिय बहसको विषय बनाउन भुसाल सफल भए। संगै आफ्ना प्रतिस्पर्धीको आलोचना विना पनि निर्वाचनको प्रचार गर्न सकिन्छ र निर्वाचन लड्न सकिन्छ भन्ने राजनितिक संस्कार समेत व्यवहारमा पुष्टि गर्न उनी सफल भएका छन।
यी हुन देवदहका पर्यटकीय स्थल:
भवानीपुर: भवानीपुर देवदह नगरपालिकाको वडा नं. ४ देवदहको पर्यटनमा निकै महत्त्वपूर्ण ठाउँ हो । यसै वडामा भवानीपुर रहेको छ । भवानीपुर प्राचीन देवदहको राजधानीका रूपमा रहेको जनविश्वास छ । यस ठाउँवरपर पत्थरको स्तम्भ, सूर्य 'देवता' को मूर्ति, प्राचीन इनार आदि रहेका छन् । यहाँ अवस्थित पत्थरको स्तम्भ भारतका तत्कालीन सम्राट अशोकद्वारा निर्माण गरिएको अनुमान छ । गौतम बुद्धलाई जन्म दिने मायादेवी, सानीआमा प्रजापति र गौतम बुद्धकी पत्नी यशोधराको जन्मस्थान हो - भवानीपुर । पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले उत्खननको कार्य थालेपछि यस स्थानको ऐतिहासिकता पुष्टि हुन थालेको छ । भवानीपुरमा विभिन्न समयमा उत्खनन गर्दा माटाका भाँडा, पैसाका सिक्का तथा भवनको दिवाल भेटिएका छन् । यस ठाउँको अध्ययन, अवलोकन गर्न आन्तरिक पर्यटकका साथै विभिन्न देशहरूबाट पनि पर्यटक आउने गर्दछन् ।
सरनबारी: देवदह नगरपालिका वडा नं ६ मा रहेको सरनबारी गाउँ प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । भौगोलिक रूपमा पहाडको चारैतिर जङ्गलले घेरेर रहेको यो गाउँ अर्गानिक खेतीका लागि प्रसिद्ध छ । मगर जातिको बाहुल्य रहेको यो गाउँमा सांस्कृतिक विविधताका रूपमा सोरठी, ठाडो भाका-लगायतका गीत-सङ्गीत गाउने गरिन्छ । पुर्वपश्चिम लोकमार्गको शीतलनगरदेखि करिब ३ कि. मि. उत्तरतर्फ पहाडको काखमा यो गाउँ रहेको छ । यो गाउँको माथिल्लो भागबाट देवदहलगायत तराईको विभिन्न भागहरूको अवलोकन गर्न सकिन्छ ।
माथागढी: करिब दुई सय वर्षअगाडि तत्कालीन ब्रिटिस सैनिकले नेपालका विभिन्न ठाउँमा आक्रमण गरेका थिए । त्यसबेला नेपाली सैनिकहरूले देवदहको सबैभन्दा उच्च स्थान माथागढी किल्लामा बसेर युद्ध गरी विजय प्राप्त गरेका थिए ।माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हतियारहरू अहिले पनि अवलोकन गर्न सकिन्छ । साथै पर्यटकीय दृष्टिकोणले पनि माथागढीको महत्त्व रहेको छ । माथागढी डाँडाबाट रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू अवलोकन गर्न सकिन्छ ।
गौतमबुद्ध राष्ट्रिय उद्यान: छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गौतमबुद्ध राष्ट्रिय उद्यान, बुद्ध सामुदायिक बन क्षेत्रभित्र पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले २०७६ सालमा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना समेत गरिएको थियो। वनमा कुहिएर खेर गएका काठका मुढाहरुबाट सुन्दर मुर्ति बनाएर सजाउने सपना देखेका देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अहिले आफुहरुको सपना पुरा भएको बताउछन् । चारैतिर हरियाली वन, उत्तरतर्फ भुलभुले झरनामा कलकल बहेको पानीको दृश्यसंगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू विभिन्न भागमा सजाएर राखिएका छन् । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना र हरियो बनको मनोरम दृश्य यहाँ देख्न सकिन्छ ।
कन्यामाई: कन्यामाई मन्दिर देवदह-७, शीतलनगरदेखि झन्डै डेढ किलोमिटर दक्षिणतर्फ शान्तिनगरमा रहेको छ । कन्यामाई मन्दिरमा पदमपाणि अवलोकितेश्वरको भाँचिएको विशाल प्रस्तरको मूर्ति रहेको छ । यसै ठाउँमा गौतम बुद्धको विशाल कदको मूर्ति मन्दिरको दक्षिणी किनारमा रहेको र अहिले माटोले छोपिएको स्थानीयबासीहरूको भनाइ छ । कन्यामाईमा ईंटा, कुदिएका दुङ्गाबाट निर्मित विशाल भवनको पर्खालसहितको भग्नावशेष, खण्डहर र प्राचीन इनारहरूसमेत रहेको जनविश्वास छ । कन्यामाईमा वि.सं. २०६८ सालमा पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालको नेतृत्वमा उत्खनन भएको थियो । उत्खननका क्रममा बुद्धकालीन महत्व दर्शाउने वस्तुहरू प्राचीन दरबार, इनार, भाँडाकुँडाका अवशेषहरू फेला परेका थिए । यसै ठाउँमा प्राचीन कोलीय राजदरबार रहेको विश्वास छ । यहाँ रहेका इनारहरूबाट बुद्धका माताहरूले पानी पिउने गरेको भनाइ छ । यशोधरालाई कन्यामाईको रुपमा पनि पूजा गरिन्छ ।
बैरीमाई: बैरीमाई मन्दिर कन्यामाई भन्दा थोरै दक्षिणतर्फ रहेको छ । बैरीमाईमा पनि बौद्धकालीन महत्त्व दर्शाउने वस्तुहरू प्राचीन मूर्ति, भाडाकुंदर अवशेषहरू रहेका छन् । हाल बैरीमाई मन्दिर स्थानीयबासीहरूको संरक्षणमा छ।
यशोधरा पार्क : यशोधरा पार्क शितलनगर बनचौकीस्थित देवदह आदर्श बहुमुखी क्याम्पसको अगाडि दक्षिणतर्फ पुर्वपश्चिम लोकमार्गसंग जोडिएको छ । यो पार्क बुद्धका तथा सुन्दर फूलहरूले सजिएको छ । जहाँ बाल उद्यान समेत रहेको छ । यस पार्कमा बालबच्चाहरू रमाइरहेको देख्न सकिन्छ ।
पाकरी वृक्ष: देवदह नगरपालिका वडा नं. ८ को पाकडी गाउँको पूर्वतर्फ पाकरी वृक्ष रहेको छ । यो स्थान पूर्व-पश्चिम लोकमार्गको पीपलडाँडादेखि २ कि. मि. दक्षिणमा रहेको छ । पाकरी वृक्षको करिब ३० मिटर उचाइ र ३० मिटर परिधि छ । सधैँभरि हराभरा रहने, चरा चुरुङ्गीले गुँड नलगाउने, गिद्ध जातका चरा नबस्ने, रूखको नजिक हात्ती नजाने, रूख हेर्दा सात तलाका रूपमा देखिने यस रूखका विशेषताहरू हुन् । परिधिका हिसाबले यसलाई नेपालकै ठूलो वृक्षको रूपमा लिइन्छ । यस वृक्षकै नामबाट त्यस वरपरको गाउँको नाम पनि पाकडी नामकरण गरिएको हो । यस वृक्षलाई स्थानीयवासीहरूले देववृक्ष, अलौकिक वृक्ष तथा बौद्धकालीन वृक्षका रूपमा समेत लिने गर्दछन् ।
खयरडाँडा: खयरडाँडा देवदह नगरपालिका वडा नं. ९ घोडाहा गाउँमा रहेको छ । तत्कालीन राज्यको एउटा दरबार रहेको मानिए तापनि यस क्षेत्रमा हालसम्म उत्खनन भएको छैन। गौतम बुद्ध मामाघरमा आउँदा यसै दरबारमा बस्ने गर्दथे भन्ने जनविश्वास छ । बुद्धकालिन समयमा यस दरबार परिसरमा घोडा बाँध्ने गरिएकाले यस ठाउँको नाम घोडाहा रहेको जनविश्वास छ । त्यस्तै, शीतलनगरको एक किलोमिटर दक्षिणमा बौद्धकालीन समयमा बङ्गाला रहेकोले हाल उक्त स्थानको नाम बङ्गाला रहन गएको विश्वास गरिन्छ ।
देव दह: बुद्धकालीन समयमा ऋषि-तपस्वीहरूले स्नान गर्ने (नुहाउने) पवित्र पोखरीलाई नै देव दह भनिएको हो । 'देव दह' देवदह नगरपालिकाको वडा नं. ९ घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनभित्र रहेको छ । देव दहमा सेता, राता र गुलाबी फूलहरू फुल्ने भएकाले बौद्ध धर्ममा यस दहलाई मङ्गल पुष्करिणीको रूपमा समेत लिइन्छ ।
रोहिणी नदी: देवदह नगरपालिका वडा नं. ९ मा रहेको रोहिणी नदीलाई बौद्धकालीन समयदेखि नै पवित्र तीर्थस्थलका रूपमा मानिएको छ । किंवदन्ती अनुसार दक्षप्रजापतिकी छोरी रोहिणीलाई चन्द्रमाले विवाह गर्नकालागि भगाएर लैजाँदा दक्षप्रजापतिले थाहा पाएपछि लखेटेका थिए । रोहिणी लखेट्दा चन्द्रमाले महादेवसँग शरण माग्दा महादेवले टाउकोमा शरण दिएका र रोहिणी भाग्दै गएर पाल्पाको सत्यवती तालको नजिक लुकेकी थिइन् । तालको दक्षिणी स्थान अर्थात लुकेको ठाउँबाट उत्पत्ति भई बगेको नदी नै रोहिणी भएकाले यसको ठूलो धार्मिक महतब रहेको स्थानीयहरू बताउँछन् । साथै कोलिय राज्य र शाक्य राज्यको विचमा पानीको लागि विवाद हुँदा गौतम बुद्धले रोहिणी नदिको किनारमा आएर दुबै राज्यलाई मिलाएको किंवदन्ती समेत रहेको छ ।
सिसपुर गाउँ: देवदह नगरपालिकाको वडा नम्बर ३ मा सिसपुर गाउँ रहेको छ । खैरेनी चोकबाट करिव पाँच किलोमिटर दक्षिणमा रहेको उक्त गाउँमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायहरूको परम्परागत कला संस्कृतिलाई अवलोकन गर्न र बुझ्न सिसपुर महत्त्वपूर्ण सांस्कृतिक गाउँ मानिन्छ । उक्त गाउँमा पर्यटकहरूले थारूहरूको परम्परागत खाना घोंगी, माछा, हाँस, ढिकरी, परेवा-लगायतका परिकारको स्वादसमेत लिनुका साथै लाठीनाच, थारूनाच जस्ता कार्यक्रम अवलोकन गर्न सक्दछन् ।
यसको साथै पत्थरकला पार्क, केउली, सरहनटारी, मायादेवी पार्क, नेपाल सरकारबाट करिव नब्बे विगाहा जग्गा लिएर निर्माणको तयारीमा गरेको लुम्बिनी विश्वविद्यालय र बंगलामा रहेको ऎतिहासीक कुवा यहाँका मुख्य आकर्षण हुन् । साथै यहाँ विभिन्न बौद्ध गुम्बा लगायतका स्थानहरू रहेका छन् ।
देवदह युनेस्क़ोमा सूचिकृत हुन सके देवदहमा रहेका र विभिन्न कारणले ओझेलमा परेका यी सम्पदाहरूको संरक्षण, विकास र प्रचारप्रसारले यस क्षेत्रकों कायापलट हुन सक्ने विश्वास यस क्षेत्रका नागरिकहरूले लिएका छन।
कमेन्ट गर्नुहोस्