
तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् ।बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक जोगाउनको लागि संविधान जोगाउनुपर्नेमा जोड दिए ।रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थापाले मुलुकलाई अधिनायकबाद र निरङ्कुशता बाट बचाउन जरुरी रहेकोले अहिलेको सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।
उनले देशमा आधाभन्दा धेरै रहेका महिला तथा युवा पुस्ताहरूको सक्रियता र एजेन्डालाई समेत आफूले लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूपू सैनिकहरूले आफ्नो कार्यकालमा देशको सेवामा काम गरेजस्तै सेवा गर्ने उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।उनले आफूहरूको गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन रहेको बताउँदै यो निर्वाचनले प्रश्चगामीहरुको समूहलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘देश बचाउनु भनेको देशको मूल कानुन संविधानको रक्षा गर्नु हो । हाम्रो गठबन्धन भनेको देश बचाउन गरिएको गठबन्धन हो । हामी एकजुट छौँ हाम्रो गठबन्धनका उम्म्मेद्वारलाई जिताउनुहोस् ।
’नेकपा एमालेले बहुमत पुर्याएर पनि देशमा राजनीतिक स्थिरताको ग्यारेन्टी गर्न नसकी संविधान नै धराशायी बनाएको आरोप लगाउँदै मुलुकलाई समृद्धि बनाउन भ्रष्ट्राचार विरुद्ध निर्णय अभियान नै बनाएर लाग्नुपर्ने उल्लेख गरे । ३ पटक सम्म यो क्षेत्रबाट निर्वाचन विष्णु पौडेललाई लक्षित गर्दै थापाले झुम्साको पानीकै राजनीति गरेको आरोप लगाए । उनले भने, ‘काठमाडौँमा मेलम्चीको पानी जस्तै बुटवलमा पनि झुम्साको पनि सपना मात्र बाँड्नुभयो ३ पटक जितेको उम्मेदवारले, उहाँले सपना देखाउनुभयो, हामी काम गरेर देखाउँछौँ। ’उनले भूमिको अधिकारलाई राजनीति खेल बनाई चुनाव जित्ने आधार बनाउनेलाई अब भोट नदिन उनको आग्रह थियो ।
कार्यक्रममा बोल्दै सत्ता गठबन्धनबाट रुपन्देही २ दुइ प्रदेशसभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले यति बेला आफूहरूको गठबन्धन संविधान र संघीयताको पक्षमा रहेको बताउँदै यो गठबन्धनलाई विजयी बनाउन आग्रह गरे। उनले प्रदेश योजना आयोगमा रहँदा बिभिन्न क्षेत्रमा काम गरेको अनुभव रहेकोले लुम्बिनी प्रदेश र रुपन्देहीलाई हरेक किसिमले अब्बल बनाउने बाचा व्यक्त गरे ।उनले जनताहरुपनि यति ठुलो प्रयासपछि बनेको संविधान बचाउने कार्यमा आफूहरूको साथ दिनेमा आफू विश्वस्त रहेको बताउँदै गठबन्धनको केन्द्र र प्रदेश सरकार बनाउने उल्लेख गरे । उनले यो गठबन्धनले दुई तिहाई भन्दा ठुलो बहुमत ल्याउने उनको दाबी छ ।
यता नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले अहिलेको सत्ता गठबन्धनको जित निकै सहज हुने दाबी गर्छन् । नेकपा एमाले कहिले पनि युवा र महिला मैत्री हुन नसकेको आरोप लगाउँदै उनले मंसिर ४ गतेपछि नेकपा एमालेको उपस्थिति शून्य हुने दाबी गरे । उनले हरेक क्षेत्रमा सत्ता सिन गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधानको रक्षा गर्न आग्रह गरे।
कमेन्ट गर्नुहोस्