लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभाबाट नागरिकता विधेयक बहुमतले पारित

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। राष्ट्रिय सभाले नागरिकतासम्बन्धी विधेयक पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।


बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्याे प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 


याे विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले याे विधेयकलाई छलफल गर्नका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर याे विधेयक जस्ताको तस्तै पारित भएर बैठकमा पेस भएको थियो ।


अब यो विधेयक फेरि प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्छ । संवैधानिक व्यवस्थाअनुसार पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन । 

कमेन्ट गर्नुहोस्