
तिलोत्तमा सिटी न्युज, साउन २८ गते २०७९। रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका – ५ मा निर्मित शुद्धोधन पार्क उद्घाटन कार्यक्रममा बोल्दै गृह मन्त्री बालकृष्ण खाणले नागरिकले एउटा सिमकार्ड लिनबाट वन्चित् भएका समस्या देखि ठुला समस्या समाधान गर्नको लागि नागरिकता विद्येयक ल्याईएको बताउनुभयो।नेपालमा लाखौ नेपालीहरु अनागरिक भएर जिवन गुजारा गर्दै आउनुभएकोले उनीहरुको लागि पनि विद्येयक पारित गरिने बताउनु भयो । गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिती सृजना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।
नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्विकृत गर्न बिलम्ब गर्न नहुने उहाँको भनाइ छ । शुद्धोधन सहित रुपन्देहीको विकास सबैको चाहना भएको बताउँदे उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्रात्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सामाजिक साँस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाती, धर्म र सम्प्रदायका नागरिकको सँस्कार अनुसार फरकफरक रहेकाले सोही अनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “पार्क विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।प्रदेश सभाका सदस्यहरु तुल्सी चौधरी र पुष्पा थरुनीले पार्क निर्माणमा अवरोध सृजना भए पनि निर्माण सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो ।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले यो पार्कको विकास र सुन्दरीकरणका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।गाउँपलिकाका प्रवक्ता केशबप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन पार्कमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कंगारु, उट, डाइनोसर लगायतका जनवर र चराका आकृतिका मुर्तिहरु राखिएका छन् ।
किनारमा पाम ट्री, गौतम बुद्धको मूर्ति र वाटर फाउण्टेनले पार्कलाई थप आकर्षक बनाएको छ । पर्कको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । पार्क अवलोकनको लागी आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ ।शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविलाल भट्टराइले तीन करोडको गुरुयोजना बनाएर पार्क निर्माण गरिएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्