
तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। रुपन्देही कञ्चन गाउँपालिका वडा नं.१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी ३१ बर्षीय साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छिन।सो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी घटनास्थलमा पुग्दा मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ। शवलाई आवश्यक प्रकृया पश्चात पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठाईएको थियो ।
सो पश्चात सावित्रीको मृत्यु शंकास्पद देखिएको र हत्या भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धानको लागि मृतकको श्रीमान ३३ बर्षीय यम बहादुर थापा क्षेत्रीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिईएको छ। अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ निज यम बहादुर थापाले मादक पदार्थ सेवन गरी सुतेकोमा निजकी श्रीमति सावित्री थापाले समेत अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१,००० (रु.एक हजार) लिई रक्सी किनेर खाई रातको समयमा आई मृतक सावित्री थापा भुँईमा,श्रीमान यम बहादुर थापा र छोरा खाटमा सुतेकोमा रातको करिब २ बजेको समयमा श्रीमानले उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई, पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई निज आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको भन्ने खुल्न गएको प्रहरीले जनाएको छ। प्रतिवादी यम बहादुर थापा क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको प्रहरी ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्