
तिलोत्तमा सिटी न्युज, साउन ११ गते २०७९ ।रुपन्देहीको तिलोत्तमामा भेटिएको अवैध कल सेन्टरको घटना बारे अध्ययन गर्न काठमाण्डौंदेखि आएको सिआईबी टोलीले आज मँगलबारदेखि काम सुरु गरेको छ । तिलोत्तमा–२ स्थित जानकीनगरमा सञ्चालित ब्लू स्काई बिजनेश सोलुशन प्रा.लिका सञ्चालक मुख्य अभियुक्तलाई प्रहरीले ठगी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।ईलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले त्यहाँ काम गर्ने १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २ सय १३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए । कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार)लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए ।
कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आएको हो । बुटवल आएका अधिकृत तहका २ जना सिआईबी सदस्यहरुले मँगलबार विहानदेखि नै अनुसन्धानको काम सुरु गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिहरूले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको हो ।साउन ८ मा जानकीनगरस्थित प्रेमराज गुरुङको घरमा सञ्चालित कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तीन तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामग्रीहरू समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो।
यता काठमाडौँका विभिन्न स्थानमा खोलिएका कल सेन्टरमा समेत सोमबार प्रहरीले छापा मारेर नेपालीसँगै चिनिया र भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि सूचना प्रविधिको प्रयोग गरेर अर्काको गोप्य विवरण चोरेर धम्क्याउने, चिट्ठा परेको भन्दै झुक्क्याएर ठगी गर्ने लगायतका आरोपहरू छन् ।तर तिलोत्तमा सिटीलाई जानकारी गराएर त्यहा कार्यरत कर्मचारीहरुले आफूहरू सो गलत कार्यमा नलागेको र त्यस्ता गलत कार्यहरु सो कार्यालयबाट नभएको जानकारी गराएका छन्।
कमेन्ट गर्नुहोस्