लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब ४० कटेका एकल विवाहित/अविवाहित महिलालाई पनि भत्ता

tillotmacitynews - 2022 Jul 02 12:50 AM
IMG

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९। चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ ।शुक्रवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो । त्यसैगरी सम्बन्ध विच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान पनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिनुभयो । 


बैठकले नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधानसमेत राखेको छ । समितिकी सचिव मिश्रले भन्नुभयो, ‘विवाह गरी वा नगरि एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध विच्छेद गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका लैङ्गिक हिंसामा परि विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतित गरिरहेका महिलालाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ।’


समितिले कम आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलालाई पनि असहाय एकल महिला भत्ता दिने प्रावधानसमेत पारित गरेको छ । त्यसैगरी स्वघोषणा गरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई सरकारले प्रशंसा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्