लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवकको डुबेर मृत्यु भएपछि भैरहवाको स्विमिङ पुल बन्द

tillotmacitynews - 2022 Jun 18 04:37 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार ४ गते २०७९ । मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन । होटलबाट कुनेै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन । ‘सकिन्छ भने मापदण्ड पूरा गरेर चलाउ हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइन’, आक्रोशित परिवारले भने ।‘नाममात्रै को सेफटी गार्ड थियो, स्वीमिङ पुल संचालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटलले राखेको छैन । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । तर, होटलले घटना हुदा पनि अझै सम्म सुधार गरेको छैन’, मृतकका मामा पंकज उदासले भने ।


मृतक तुलाधार परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले भान्जा गुमाउनु परेको उदासले बताए ।

मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटल सञ्चालक र प्रहरीबीच छलफल जारी छ ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी समझौता गरेको छ, समझौतामा बाल उद्यान भनिएपनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको छ ।


यता पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुदा ३ जना सेफटी गार्ड रहेको बताए । एक जना सानो स्वीमिङमा र २ जना ठूलो स्वीमिङ पुलमा थिए, उनीहरुलाई हामीले नै तालिम दिएर राखेका छौ ।होटलका संचालक तथा कम्पनिका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल संचलन गर्ने बताए, जब मापदण्ड पूरा हुन्छ अनि मात्रै चलाउछौ होइन भने चलाउदैनौ । घटना घटेकोमा हामी पनि दुखी छौ ।

कमेन्ट गर्नुहोस्