
तिलोत्तमा सिटी न्युज , जेष्ठ २ गते २०७९। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उदघाटन गरेका छन् ।५ हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज बिहान उदघाटन गरेका हुन् ।प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो सभा हल मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले यो सम्मेलन केन्द्र बनाएको हो ।
यस्तो छ विशेषता
छाता शैलीमा बनेको सम्मेलन केन्द्रमा १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन् । हलमा हुने भाषण, प्रवचन जुनसुकै कुनाबाट सुन्न सकिने गरी निर्माण गरिएको छ । हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिलाई १ वर्गमिटर स्थान राखिएको छ । एउटा ब्लकमा ४ जना मानिस बस्ने व्यवस्था गरिएको छ । आवतजावतको लागि २ मिटर चौडाइ भएको ठाउँबाट भित्र–बाहिर गर्ने मिल्ने गरी डिजाइन गरिएको छ ।
योजनाअनुसार ३ वर्षमा निर्माण पूरा हुनुपर्ने उक्त केन्द्र ४ वर्षमा सम्पन्न भएको हो । कोरियन प्रविधिबाट छाना निर्माण गरिएको हलको भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन् । सभाहल गर्मीमा चिसो र जाडोमा तातो हुने वातानुकुलित प्रविधिसमेत राखिएको छ । ईपीएस प्यानल प्रयोग गरिएको यो प्रविधिले ६ देखि ८ डिग्री तापक्रम तलमाथि हुन सक्ने लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले बताए । सभाहल भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ भने सभा हलको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने र साउण्ड प्रुफ प्रविधि राखिएको छ । हलको भुइँमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।
२०७७ असारभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौताको शर्त भएपछि कोरोना महामारीको कारण २ वर्ष ढिलो गरी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बनेपछि २०७९ साल असार मसान्तसम्म समय थप गरिएको थियो । पहिलो चरणमा सभाहल, दुईटा शौचालय र कन्ट्रोल रूम लगायतका काम भएका थिए भने दोस्रो चरणमा कम्पाउन्ड वाल, पाहुनाहरूको लागि प्रतिक्षा कक्ष, ल्याण्ड स्केप, भिआईपीलाई आराम गर्न, छलफल र बैठक गर्न दुइटा भिआइपी कक्ष निर्माण पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन लगायतका काम भएका छन् । दोस्रो चरणको कामको लागि पनि २७ करोड रुपैयाँ खर्च भएको भट्टराईले बताए ।
सभा हलमा बौद्ध सम्मेलनमात्र नभई सार्क, विमष्टेकजस्ता अन्तराष्ट्रिय ठूला सम्मेलन समेत आयोजना गर्न सकिने कोषले जनाएको छ । सभा हलसंगै भिआइपीको लागि कार पार्किङ, २०÷२० जनाले एकैपटक शौच गर्न मिल्ने गरी चार वटा शौचालय निर्माण भएका छन् । योजना प्रमुख भट्टराईका अनुसार अब ल्याण्डस्केपको एक प्रतिशत काम बाँकी छ ।
कमेन्ट गर्नुहोस्