लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाटोको बिषयमा भ्रम नपाल्न मेयरका स्वकीय सचिवको आग्रह

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । तिलोत्तमा नगरापलिकाका मेयर बासुदेव घिमिरेको सहलागानी रहेको तिलोत्तमा होम्स सम्मको बाटोलाई निर्माण पश्चात गरेको बिरोध र भ्रम नपाल्न मेयरका स्वकीय सचिव बिष्णु अर्यालले आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक संजालमा यस्तो विज्ञप्ति लेखेका छन्। 


विज्ञप्ति 

स्थानीय तह सदस्य निर्वाचन—२०७९ को मनोनयन यता मूलतः तिलोत्तमा नगरपालिका प्रमुख श्री बासुदेव घिमिरेज्यूको नामलाई जोडेर केही सञ्चारमाध्यममा निरन्तर प्रसारण, प्रकाशन भैरहेका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा एकपक्षीय ढंगबाट विषयलाई अतिरञ्जित गरी एकपछि अर्को सामग्री प्रसारण गरिनुले हामीहरु अचम्म परेका छौं । हामी स्वतन्त्र पत्रकारिताप्रति उच्च सम्मान गर्छौं । स्वस्थ आलोचनालाई हामीले स्वीकार गर्दै आएका छौं । सार्वजनिक पदमा रहँदा भए गरेका कमजोरीलाई सञ्चार माध्यमले उजागर गरिदिँदा त्यसलाई हामीले सधैं सकारात्मक रुपमा लिँदै आएका हौं । तर, पछिल्लो समय केही सञ्चारमाध्यमले प्रचलित मूल्यमान्यता र समाचारको मर्म तथा भावना विपरीत सम्बन्धित पक्षको प्रतिक्रियाविनाका सामग्री एकहोरो प्रकाशन, प्रसारण गरिँदा निकैं दुःख लागेको छ । निर्वाचनको मुखमा कुन उद्देश्यका साथ यस्तो काम गरिएको छ भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि रहेन ।

 

केही दिनअघि सुकुम्बासीलाई लालपूर्जा नदिएको भनेर सामग्री प्रसारण गरेको पाइएको थियो । लालपूर्जा वितरणको एकल अधिकार नगरपालिकालाई नभएको सबैलाई जानकारी नैं होला । यस्तो अवस्थामा नगर प्रमुखको तस्वीर बारम्बार देखाएर लालपूर्जा नदिएको भनेर व्याख्या गरिनु पत्रकारिता आचारसंहिताभित्र पर्छ भन्ने मलाई लाग्दैन । सो सामग्रीमा असम्बन्धित विषयमा समेत नगर प्रमुख घिमिरेको तस्वीर जवर्जस्त प्रयोग गरिएको छ । यस्तै नगर प्रमुख र उपप्रमुख चीन भ्रमण जाँदा भएको खर्चलाई उहाँहरुले व्यक्तिगत रुपमा लिएको भनेर चर्चा समेत गरिएको थियो । जुन तथ्यभन्दा बाहिरको विषय हो । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा निर्वाचन परिचालन कमिटीको संयोजकको रुपमा श्री बासुदेव घिमिरले राख्नु भएको अभिव्यक्तिलाई अतिरञ्जित गरेर प्रकाशन गरिएको घटनाले ताजै छ । तर त्यसरी प्रकाशन गरिएका सामग्रीलाई भिडियो फुटेजका आधारमा पछि सच्चाइएको समेत हामीले पायौं ।

 

२०७९ वैशाख २४ गते भलबारीदेखि पूर्व तर्फको बाटोको कुरामा समेत अतिरञ्जित गरिएको छ । तथ्यभन्दा बाहिरका कुरा उठाइएको छ । कपोलकल्पित, भ्रामक कुराहरु भनिएको छ । पार्टीगत रुपमा पनि नगर प्रमुखको चरित्रहत्या गरिएको छ । निर्माणको क्रममा रहेको मंगलापुर—कान्छीबजार सडकको सन्दर्भमा समेत प्रमाण र तथ्यविहीन कुरा गरिएको छ । तथ्यविहीन सफेद झुट विषय आमसञ्चार माध्यममा ल्याइनुको उद्देश्य के हो भन्ने प्रश्न उठेको छ ।भलबारी पूर्व तर्फको बाटोमा पूर्वाधार विकासका काम संघीय सरकारको बजेटबाट भएको हो । तर, यो सडक हालसम्म कालोपत्रे भएको छैन । नगर प्रमुखले कुनै व्यवसाय गर्न पाइँदैन भन्ने कहाँ छ ? यो बाटोमा पर्ने तिलोत्तमा होम्समा एकसाथ १०९ वटा व्यवस्थित घर बन्दैछन् । एकीकृत बस्तीको लागि यो काठमाडौंपछिकैं नमूना मानिन्छ । परियोजनाभित्रको सडक, खानेपानी, विद्युत्लगायतका सबै पूर्वाधार लगानीकर्ता आफैंले बनाएका छन् । त्यहाँसम्मको पहुँच मार्गको सन्दर्भमा मात्र सरकारले सघाएको हो । निजी क्षेत्रले गर्ने परियोजनामा सडक लगायतका पूर्वाधार पुर्याउने संघीय सरकारकैं नीति छ । एकीकृत बस्ती विकास नेपाल सरकारकैं नीति हो । बनाउन थालिएको बाटो तिलोत्तमा होम्सको लागि मात्र लक्षित छैन । 


भलबारी हुँदै लोकेटार र त्यहाँबाट बेहुली निस्कने यो सिद्धार्थ राजमार्गसँग जोड्ने भलबारी पूर्वको पहुँचमार्गको रुपमा रहेको छ । एउटा घरको लागि त्यहाँ राज्यको लगानी गरिएको होइन । सोही बाटोमा पाँच तारे होटल समेत बन्दैछ । अन्य संरचनाहरु पनि बन्दै छन् । जुन कुरा त्यहाँ गएर बुझ्न सकिन्छ । त्यहाँ निजी क्षेत्रले करोडौं लगानी गर्दैछ । यस प्रकारको तथ्यलाई बङ्गाएर चुनावको मुखमा गरिएका यस्ता प्रचारबाचीले सञ्चार माध्यमको गरिमालाई उँचो बनाउदैन भन्ने लाग्छ । तसर्थ सञ्चार माध्यममा  तथ्यपरक, विश्वसनीय, यथार्य विषयलाई समेत समेट्न सविनय आग्रह गर्दछु । 


विष्णुप्रसाद अर्याल 

नगर प्रमुखको स्वकीय सचिव 

तिलोत्तमा नगरपालिका 

मिति ः २०७९।०१।२५


कमेन्ट गर्नुहोस्