लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एमालेको प्रतिबद्धता, तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी

IMG

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९।नेकपा एमालेले तिलोत्तमा नगरपालिकामा आगामी तीन वर्षभित्र सबै घर परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यहीँ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीले आगामी ३ वर्षभित्र स्वच्छ खानेपानी शतप्रतिशत घर परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । सामान्यतयाः ओभरहेड टंकीबाट वितरण गरिने खानेपानीलाई स्वच्छ खानेपानी मान्ने गरिन्छ ।


पार्टीले प्रकाशन गरेको प्रतिबद्धता पत्रमा ओभरहेड टंकी निर्माण र पाइपलाइन विस्तार गर्न संघ तथा प्रदेश सरकारबाट समेत लगानी सुनिश्चित गरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आवश्यक सहयोग र सहजीकरण गरिने उल्लेख छ । तिलोत्तमा नगरपालिकामा आधारभूत स्तरको खानेपानीको पहुँच सबै नगरबासीको पहुँचमा रहेको छ । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीका हाल अनुसार तिलोत्तमाका झण्डै ८० प्रतिशत बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा छन् ।


तिलोत्तमाको धेरै जनसंख्या रहेको साविकका शंकरनगर, आनन्दवन, करहियाका अधिकांश घर परिवार स्वच्छ खानेपानीको पहुँचमा पुगेका छन् । हाल निर्माणको क्रममा रहेका आयोजना सम्पन्न गरी थप ओभरहेड टंकी र पाइप विस्तार गरेर सबै नगरबासीको पहुँच स्वच्छ खानेपानीमा पुर्याउने नेकपा एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकामा हाल खानेपानी वितरण गर्दै आएका र निर्माणको क्रममा रहेका शंकरनगर, शंकरनगर—आनन्दवन, करहिया, करहिया—मक्रहर, मधवलिया, टिकुलिगढ, भुल्के, भूपू सैनिक, गंगोलिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रहेका छन् । यी आयोजनाहरुले आवश्यकता अनुरुप सेवा विस्तार गर्दै गएका छन् ।


सबैका लागि सुरक्षित तथा उपभोक्ता मैत्री मूल्यमा पिउने पानीको सर्वसुलभता र समतामूलक पहँुचका लागि प्राथमिकता दिइने एमालेले जनाएको छ । खानेपानी तथा सरसफाई व्यवस्थापनको दिगो विकासका लागि स्थानीय समुदायहरूको सहभागितालाई अझ सबल बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै नगरक्षेत्रभित्र ढलको समुचित व्यवस्थाको पहल गरी अब बन्ने नयाँ सडकमा ढल निर्माणसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने पनि एमालेले जनाएको छ ।


यसैगरी नगरपालिकाबाट राइट अफ वे निर्धारण गरिएका महत्वपूर्ण सडकहरूको ढल, नाली निर्माणमा प्राथमिकता दिइने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ । एमालेले स्थानीय तह सदस्य निर्वाचनमा नगर प्रमुखमा मोहन चापागाईं तथा उपप्रमुखमा जागेश्वरी चौधरीलाई उम्मेदवार बनाएको छ ।  उम्मेदवारहरुले प्रतिबद्धता अनुसारको काम हुने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्