
तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। तिलोत्तमा नगरपालिकाका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनताले अघिल्लो स्थानीय,प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफुहरुलाई लालपुर्जा दिन्छौं भन्ने आश्वासन दिएर मत लिए पनि प्रतिवद्धता पूरा नगरेको गुनासो गरेका छन् ।नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा उनिहरुले उक्त गुनासो गरेका हुन् ।तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सिमानगरमा बस्ने माया हिताङ्गले तपाईंको जग्गाको पुर्जा दिन्छौ र घर पनि हामीले बनाईदिन्छौँ भनेर पनि भोट मागे पनि चुनाब जितेपछि घर बनाइदिनुत कताहो कता लालपुर्जा पनि नदिएर झुक्याएको गुनासो गरिन् ।अघिल्लो निर्वाचनमा जसलाई मत दिएको भएपनि यसपटक जसले औषधी किन्न खर्च र भत्ता दिन्छ त्यसैलाई मतदिने बताइन् । तिलोत्तमा वडा नम्बर ३ र ४ मा पर्ने यो बस्तीमा माया हिताङ्ग जस्तै सयौँ मतदाता छन् ।
“पहिला भोट दिएं तर फर्किएर कोही सोध्न र खोज्न आएनन्, अहिले चुनाव आयो दैनिक भोट दिनु भन्दै घरमै आईपुग्छन् ।” उमेरले साढे पाँचदशक पुग्नै लागेकी हिताङ्गको पाँचवर्ष पहिलाको जस्तो अवस्था छैन् । जिवन जिउने साहारा रहेका श्रीमानलाई पनि गतवर्ष तिनाउमा आएको बाढीले सदाका लागि लगिदियो ।अघिल्लो निर्वाचनमा केहीकाम गरेर आफै पेट पाल्न सक्ने उनलाई उमेर संगै आएको बुढ्यौलीले त समात्यो साथै शरिर पनि रोगको घर बनेको छ ।सोही बस्तीमा १६ वर्ष देखि बस्दै आएका ५४ बर्षका रामबहादुर तामाङ्ले पनि बस्तीमा खासै परिवर्तन देखेका छैनन् । उनले भने–“केही सडकहरु बनेका छन् तर हाम्रोे दैनिकीमा कुनै परिवर्तन भएको छैन । म मजदुरी गरेरै बाँच्दै आएको छु । पैसाहुनेहरुको घर ठडिएको छ म भाडामै बस्दै आएको छु ।”
हरेक निर्वाचनमा तिलोत्तमाका यस्ता अव्यवस्थित र सुकुम्बासी वस्तीहरु भोट बैंकका रुपमा प्रयोग हुने गरेका छन्। पटक पटकको चुनावमा लालपुर्जा पाउने आसागर्दै स्थानीय, प्रदेश देखि केन्द्र सम्म तिलोत्तमाबासीले एमालेकै नेताहरुलाई जिताएका हुन् ।बस्तीमा सानो व्यवसायी गरेर बसेकी एक महिलाले लालपुर्जा पाउने भन्दै नगरपालिकाले टोकन बाडेको बताइन् । उनले यसपटक पनि प्रायः सबै राजनीतिक दलहरुले भोट माग्न आउँदा लालपुर्जा दिने आश्वासन दिने गरेको बताइन् । उनले भनिन्–“अघिल्लो निर्वाचनमा हामीलाई लालपुर्जा दिने भन्दै झुक्याईयो तर यसपटक विचार गरेर मतदान गर्ने हो ।स्थानीय सरकारको पाँचवर्षे कार्यकाल सकिँदा समेत भूमिहिन तथा सुकुम्बासीले लालपुर्जा पाउन सकेनन् । तर आगामी निर्वाचनमा पनि दलहरु यही र यस्तै नारा दिएर सुकुम्वासी र अब्यवस्थित बस्तीमा देखा पर्न थालेको स्थानीयहरु बताउँछन् ।
दुई वडामा पर्ने सिमानगरमा झण्डै छ सय घर परिवारहरु रहेको बताइन्छ । तिलोत्तमाका स्थानीय अगुवा तथा समाजसेवी हरि तिवारीले अहिलेको एमाले नेतृत्वको तिलोत्तमा नगरपालिकाले जनताका समस्यालाई समाधान गर्नुको साटो उल्टो बढाउनुको साथै त्यसैमाथि आश्वासनको राजनीतिगर्ने र आफू सधै सत्ताको चास्नीमा डुब्न रमाउन खोजेका कारण जनताका समस्या कहिल्यै समाधान हुननसकेको बताए । सिमानगर बस्तीलाई नजिकबाट राम्रो संग बुझेका तिवारीले यस्तो नेतृत्वबाट अव्यवस्थित बसोबासी र सकुम्बासी समस्या समाधान नहुने बताए । स्थानीय निर्वाचन संघारमा रहेकोेले योग्य र जनताका समस्यालाई सम्वोधन गर्ने उम्मेदवारलाई मतदिन समेत आग्रह गरे ।तिलोत्तमा ४ र ३ को यो बस्ती जस्तै अन्य वडाहरुको अवस्था पनि उस्तै छ ।
कमेन्ट गर्नुहोस्