
तिलोत्तमा सिटी,बैशाख १२ गते २०७९।स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा २३ सय ७७ जनाले सोमबार मनोनयन दर्ता गराएका छन् ।जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ वटा पालिकामा उक्त संख्यामा मनोनयन परेको हो । जसअनुसार एउटा उपमहानगरपालिका र पाँचवटा नगरपालिका रहेको रुपन्देहीमा ४३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।त्यस्तै उपमेयर पदमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै १० वटा गाउँपालिका रहेको रुपन्देहीमा अध्यक्ष पदमा ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी वडाअध्यक्ष पदमा ५३० जना, महिला सदस्यमा ४१५, दलित महिला सदस्यमा ३५४ र अन्य सदस्यमा ८७७ जनाले उम्मेदवारी दर्ता गराएको भण्डारीले जानकारी दिए ।गठबन्धनभित्रको असन्तुष्टीले केही पालिकामा भने गठबन्धनभित्रैका दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। नेकपा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले सम्मानजनक स्थान नदिएकाले गठबन्धनभित्र मतभेद रहेको स्वीकार गरे । तिलोत्तमा नगरपालिकामा नेकपा एकीकृत समाजवादी गठबन्धनबाट अलग भएर मेयर, उपमेयरमा छुट्टै उम्मेदवारी दिएको छ । उसले मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इन्जिनियर संजीव भण्डारीलाई उम्मेदवार बनाएको छ । भने कांग्रेसका मेयरमा रामकृष्ण खांडसंग नेकपा माओबादिका हेमन्त पाण्डेय उपमेयर हुने गरि गठबन्धन कसिएको छ। त्यसो त नेकपा एमालेले अहिले सम्म एक्लै आफ्नो उम्मेद्वारी दिएको छ।
बुटवलमा जनता समाजवादी पार्टीले मेयर उपमेयरमा अलग्गै उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ताका लागि दलहरु स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा र्यालीसहित पुगेका थिए ।
कमेन्ट गर्नुहोस्