
तिलोत्तमा सिटी,बैशाख २ गते २०७९। यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको बताए । जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि काठमाडौं विमानस्थललाई २४ घन्टा संचालन गर्दैछौं,’ उनले भने ।
यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा संचालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म संचालनमा ल्याएका थिए । यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुन: उडान संचालनको समय घटेको थियो । त्यसपछि कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल संचालन समय पनि खुम्च्याइएको थियो ।
यसैबीच प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछ । ‘वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछौं,’ महानिर्देशक अधिकारीले भने, ‘वैशाख ८ गतेदेखि आन्तरिक उडान गर्ने बुद्ध, यति, श्री, गुण र सौर्य गरी ५ वटा वायुसेवाले नयाँ धावनमार्ग प्रयोग गर्नेछन् ।’
अब पाइलटले वैशाख ८ पछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन् । ‘हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाहरुबारे विस्तृत प्राविधिक जानकारी एयरर्याक (एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौं । अब पाइलटले ककपिटमा र आफ्ना उपकरणमा भैरहवा विमानस्थलको पुरानो संरचनालाई चिन्ने छैनन,’ उनले भने । उनीहरुले अध्यावधिक गरिएको धावनमार्ग लगायतको प्राविधिक सूचना जेप्सन चार्टमार्फत पाउने भएकाले नयाँ धावनमार्ग बिहीबारदेखि संचालन हुन लागेको हो ।
कमेन्ट गर्नुहोस्