लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवा विमानस्थल : दैनिक ७२ वटा उडान क्षमता, ५ वायुसेवा कम्पनी सम्पर्कमा

IMG

चैत्र २ गते २०७८,तिलोत्तमा सिटी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंपछि अन्तर्राष्ट्रिय उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान क्षमता दैनिक ७२ वटा रहेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार वैशाख ७ गतेदेखि व्यवसायिक रुपमा नियमित उडान गर्ने यस विमानस्थलले दैनिक रुपमा ७२ वटासम्म उडान क्षमता रहेको जनाएको हो ।गौतमबुद्धमा जम्मा चार वटा अन्तर्राष्ट्रिय जहाजका लागि पार्किङ रहेको र एक जहाजले अवतरण गरी पुनःउडान गर्न बढीमा एक घण्टा लाग्ने भएकाले दैनिक ७२ वटासम्म उडान गर्न सक्ने क्षमता भएको प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । नेपाल एयलाइन्सको वाइडबडी ३३० बाट वैशाख १ गते परीक्षण उडान गर्ने तयारी प्राधिकरणले गरेको छ । व्यावसायिक उडान सुरुसँगै विमानस्थलले दैनिक १८ घण्टा उडान सञ्चालन गर्ने उनले जानकारी दिए।


नयाँ विमानस्थल सञ्चालनलाई थप सहज बनाउन प्राधिकरणले अवतरणदेखि पार्किङ शुल्क समेत छ महिनासम्म निःशुल्क गर्ने प्रस्ताव मन्त्रालयमा पठाएको प्रवक्ता कर्णले जानकारी दिए । मन्त्रालयबाट स्वीकृति दिए तत्काल आकर्षक कार्यक्रम ल्याएर प्रभावकारी सञ्चालन गर्ने तयारीमा प्राधिकरण जुटेको उनले बताए।गौतमबुद्ध विमनस्थलमा कतारको जजिरा एयलाइन्सले जेठ २ गतेदेखि सातामा एउटा उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पत्र पठाइसकेको छ भने अन्य विमान कम्पनीहरु पनि उडान गर्न इच्छुक रहेको प्राधिकरणले जनाएको छ । नेपालबाट अन्तराष्ट्रिय उडान भर्दै आएको नेपाल एयलाइन्स, हिमालय एयलाइन्स स र अन्य अन्तराष्ट्रिय उडान गर्ने अनुमति पाएको यती, बुद्ध र श्री एयलाइन्सले पनि उडानका लागि तयारी सुरु गरेको जनाएको छ ।


यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलङ्कालगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तव्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ । उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो कामको तयारी गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। उनका अनुसार ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनशक्ति भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन् ।सरकारले आगामी जेठ २ गते परेको बुद्धपूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।-रासस

कमेन्ट गर्नुहोस्