लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्यालिब्रेसन फ्लाइट गर्ने जहाज थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्ने

IMG

३ फागुन, काठमाडौं । निर्धारित तालिका अनुसार आगामी बिहीबार (५ फागुन) साँझ थाइल्याण्डबाट एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज थाइल्याण्डबाटै सिधै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको थियो । तर, भैरहवा विमानस्थलमा अध्यागमनसम्बन्धी काम सुरु नभएका कारण जहाज काठमाडौं आउन लागेको हो ।काठमाडौंबाट सम्भव भए बिहीबार साँझ नै र सम्भव नभए शुक्रबार बिहान जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज भैरहवा विमानस्थलमा उपकरण जडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले ल्याउन लागेको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रविन न्यौपानेका अनुसार यसै जहाजबाट शुक्रबार (६ फागुन) देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’को काम सुरु हुनेछ ।


१५ फागुनसम्म चल्ने छ परीक्षण

तालिका अनुसार ६ फागुनदेखि १५ फागुनसम्म क्यालिब्रेसन फ्लाइटबाट उपकरणहरुको परीक्षणको काम हुनेछ । यस क्रममा भैरहवा विमानस्थलमा अहिले भइरहेको नियमित उडान समेत प्रभावित हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना नै निकालेर विमानस्थलमा उडान तथा अवतरणको समय ढिला हुन सक्ने बताएको छ । सोही अनुसार व्यवस्थापन गर्न समेत प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग भनेको छ । अर्थातः १५ फागुनसम्म यो विमानस्थलमा नियमित उडानहरु प्रभावित हुनेछन् ।


जहाजमा दुई पाइलटसहित ७ जना विशेषज्ञ

यो उडानपछि भैरहवा विमानस्थल अन्य साधारण प्रकृतिको उडानका लागि योग्य र सुरक्षित भए/नभएको प्रमाणित हुनेछ । ‘क्यालिब्रेसन अगाडी अरु उडान गर्दा सुरक्षामा शतप्रतिशत ढुक्क हुने अवस्था हुन्न,’ न्यौपाने भन्छन्, तर, क्यालिब्रेसनले हवाई सुरक्षाको सुनिश्चितता गर्छ ।’

न्यौपानेका अनुसार यस दौरान यन्त्र–उपकरणले काम गरे–नगरेको परीक्षण गरिन्छ । यस क्रममा कन्ट्रोलर टावर र जहाजबीचको कुराकानी गर्न जडान गरिने सूचना संयन्त्रले समेत काम गरे नगरेको हेरिन्छ । धावनमार्गको भौतिक पक्षसँग क्यालिब्रेसनको सम्बन्ध हुँदैन । तर, धावनमार्गमा राखिएका संकेत चिन्ह तथा लाइटिङहरु ठिक भए–नभएको भने हेरिनेछ ।यसरी हुने क्यालिब्रेसन फ्लाइटका लागि आउने जहाजमा कुल ७ जना हुनेछन् । त्यसमध्ये दुई जना पाइलट र को–पाइलट हुन्छन् । अन्य भने विशेषज्ञ टोली हुनेछन् । एरोथाईकै इन्जिनियर टोलीले परीक्षणको काम गर्नेछ । परीक्षणको काम एकै दिन सम्पन्न हुने भन्ने हुँदैन । सोहीकारण १५ फागुनसम्मको समय राखिएको हो ।क्यालिब्रेसन उडानपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । त्यसपछि भने अन्य व्यवस्थापनको काम पूरा गरी व्यवसायिक उडानका लागि वायुसेवा कम्पनीलाई आह्वान गर्न सकिने छ ।


७ वर्षपछि सम्पन्न हुने क्रममा राष्ट्रिय गौरवको आयोजना

सरकारले भैरहवा विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेको छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आईसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा कन्ट्रोल टावर रहेको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा समेत यहाँ रहने छ ।


सञ्चालन–व्यवस्थापन प्राधिकरणबाटै

प्राधिकरणका अनुसार यो विमानस्थलमा परीक्षण पूरा भएपछि सञ्चालन तथा व्यवस्थापन अहिले प्राधिकरणकै जनशक्तिबाट हुनेछ । यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ । त्यसमा थप जनशक्तिसहित दरबन्दी तय भइसकेको बताइएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरबन्दी तय गरिएको छ । साभार अनलाइन खबर 


कमेन्ट गर्नुहोस्