
तिलोत्तमा सिटी,माघ २९ गते २०७८। नेपाल मगर संघ रुपन्देहीले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।२०७२ साल असोज २ गतेको मन्त्रिपरिषद बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेपनि व्यवहारमा प्रथम शहीदको सम्मान दिन नसकेको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।लखन थापा अक्षयकोष रुपन्देहीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जहाँनिया राणा शासनविरुद्ध पहिलो जनविद्रोहको सुत्रधार लखन थापालाई सम्मान दिन राष्ट्रिय विभुति घोषणा गर्न माग गरेको हो । त्यस्तै लखन थापाको स्मृति दिवस फागुन २ गतेलाई शहीद दिवसको मान्यता र सार्वजनिक विदा दिन माग पनि गरेको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दलबहादुर बीरकट्टामगरले सरकारले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने आश्वासन मात्रै दिएको गुनासो गरे । उनले शहीद गेटमा थापाको पनि शालिक राख्नुपर्ने माग गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष अनबहादुर सोतीले प्रथम शहीद थापाको जीवनीलाई पाठ्यक्रममा समावेश गर्न माग गरे ।संघ र कोषले १४५ औं लखन स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराहास्थित लखनचोकसहित रुपन्देहीका विभिन्न स्थानीय तहमा पनि स्मृति सभा गर्ने कार्यक्रम तय गरेको छ ।
कमेन्ट गर्नुहोस्