लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रख्यात वैज्ञानिक विल्सनको निधन

IMG

तिलोत्तमा सिटी,१२ पौष २०७८।जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो ।हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के-कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।इभोलुसनरी बायोलोजीमा सन् १९५०को दशकदेखि काम गरे ल्सनले जैविक विविधताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । जैविक विविधताका अध्येता एवं नास्टका प्राज्ञ डा. दिनेशराज भुजु जैविक विविधताको महत्वलाई जनस्तरमा स्थापित गर्ने श्रेय विल्सनलाई जाने बताउँछन् । 'यो विषयलाई हरेक राष्ट्रहरुको नीतिगत तहमा पुर्‍याउने महत्वपूर्ण योगदान विल्सनको रह्यो,' उनले भने ।विल्सनले विभिन्न क्षेत्रमा किन विविध प्रकारका प्रजाति पाइन्छन् भन्ने विषयमा पनि अनुसन्धान गरेका थिए ।


कमिलाको भौगोलिक अवस्था, पुराना प्रजातिबाट कसरी नयाँ प्रजातिको विकास भयो भन्ने सम्बन्धमा विल्सनको धेरै योगदान रह्यो ।यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकास(इभोलुसन) र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो ।जैविक विविधेता अध्येता एवं अनुसन्धानकर्ता प्रकशचन्द्र अर्याल पर्यावरणमा हरेक चिजको पनि महत्वपूर्ण भूमिका हुने कुरा विल्सनले गरेको बताउँछन् । उनी भन्छन्,' विल्सनको योगदानका कारण जैविक विविधतामा हरेक सानो जीवको पनि महत्वको बारेमा प्रष्ट्याइ भएको छ । उनले आइलेन्ड बायोजिओग्राफी थेउरी र जैविक विविधतामा पनि अन्य महत्वपूर्ण योगदान दिएका छन् । 'करिब ३० भन्दा बढी पुस्तक लेखेका उनले दुईपटक पुलित्जर पुरस्कार पाए । उनका पुस्तक 'अन ह्युमन नेचर'ले १९७९ र 'द एन्ट्स'ले १९९१ मा गैरआख्यान विधामा पुलित्जर पुरस्कार पाएको थियो । अमेरिकाको प्रतिष्ठित नेशन मेडल अफ साइन्स पदबाट सम्मानित वैज्ञानिक विल्सनलाई टाइम म्याग्जिनले सन् १९९५मा अमेरिकाका २५ शक्तिशाली व्यक्तिहरूको सूचीमासमेत राखेको थियो ।


एड्वार्ड ओसब्युर्न विल्सन(ई.ओ विल्सन)को जन्म सन् १९२९ मा अमेरिकाको अल्बामा भएको थियो । उनले अल्बामा विश्विवद्यालयबाट स्नातक र स्नातकोत्तर गरे । त्यसपछि हार्वर्डबाट पीएचडी गरे ।बाल्यकालमा माछा मार्ने क्रममा आँखामा चोट लागेपछि उनी साना जीवतर्फ आकर्षित भएका थिए । आँखामा लागेको चोटका कारण ठूलो वस्तुहरु नजिकबाट हेर्न नसक्ने भएपछि साना वस्तुहरुमा उनको रुची थियो । त्यही बेला उनले कमिलाको अध्ययनमा लागेका थिए ।कमिलाहरु संवाद गर्नका लागि ग्रन्थीबाट विशेष प्रकारको रसायन (फेरोमन एक्सिक्रिएसन) निकालेर संवाद गर्ने पत्ता लगाएका थिए । 'फायर एन्ट' को बारेमा उनले अमेरिकामा पहिलोपटक पत्ता लगाएका थिए । जुन कमिला पछि गएर अमेरिकाको दक्षिण क्षेत्रमा एक शत्रु जीवको रुपमा विकासित भएको थियो ।त्रिभुवन विश्विविद्यालका प्राध्यापक इमिरेटस एवं जैविक विविधता विज्ञ प्राडा रामप्रसाद चौधरी विल्सनको निधन 'संसारका लागि ठूलो घाटा' को रुपमा लिनुपर्ने बताए । उनले विल्सन अहिलेको पुस्ताका डार्बिन भएको उल्लेख गर्दै सोसियल बायोलिजीमा महत्वपूर्ण योगदान रहेको बताए ।

कमेन्ट गर्नुहोस्