
तिलोत्तमा सिटी,१० पौष २०७८।बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ । मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेकाले ५० हजार बढी दर्शकको उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएका छन् ।मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीले शनिबार मात्रै ५० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेका बताए । मेलामा दर्शकको चाप बढेपछि टिकट व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो ।आगामी दिनमा सार्वजनिक विदाका दिनमा टिकट काउन्टर बढाउने र ठाउं ठाउंमा टिकट विक्रिको व्यवस्था गरेर भीड कम गरिने संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । दर्शकको उत्साहजनक उपस्थितिले आयोजक उत्साहित भएका छन् ।
शनिबार मेलाका दर्शकलाई चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारले भरपूर मनोरन्जन प्रदान गरेका थिए । यस्तै डान्स आइडलका प्रतियोगीको नृत्यमा पनि दर्शक रमाएका सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।मेलामा बाल उद्यानमा रमाउने र अवलोकनकर्ताको चाप बढेकाले स्टलहरुमा ब्यापार पनि राम्रो भई करिब ५ करोडको कारोबार भएको स्टल व्यवस्थापन उपसमिति संयोजक एवं संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए ।आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी, लक्ष्मी बस्नेत, दीपक खड्का लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।
कमेन्ट गर्नुहोस्