
तिलोत्तमा सिटी,२ पौष २०७८।रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट भएका छन् ।गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ ।चिसो छल्नका लागि बालेको आगो पसलमा सल्किएको प्रहरीले जनाएको छ ।
लुम्बिनीस्थित बसपार्कमा आगलागी भएको हो। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको स्थानीय विष्णु बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागी हुँदा झण्डै ७०/७५ लाखको क्षति भएको आकलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए। आगलागी पछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीयको आक्रोश छ।\
लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो। भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो। आगो राती २ बजेतिर लागेको थियो। स्थानीय युवाहरुले पसलमा लगाएका टीनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बस्नेतले जानकारी दिए। लुम्बिनीको दमकल पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि मात्रै आएको थियो।
कमेन्ट गर्नुहोस्