लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा आँखा उपचार केन्द्र सञ्चालनमा

IMG

तिलोत्तमा सिटी,७ कार्तिक २०७८।  रुपन्देहीको तिलोत्तमामा आँखा उपचार केन्द्र संचालनमा आएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अबस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–२ मा स्थापना भएको आँखा उपचार केन्द्र शुक्रबारबाट संचालनमा आएको हो । एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले केन्द्रको शुभारम्भ गरे । उनले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखा रोगीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्रलाई जिल्लाकै नमूना आँखा उपचार केन्द्र बनाउनका लागि नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 


अस्पतालको कार्ययोजना अनुसार तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले बताए । ‘आखाँ उपचारका लागि भैरहवा जानुपर्ने समस्या थियो । समस्या समाधान होस् भनेर तिलोत्तमामा आँखा उपचार केन्द्र संचालनमा ल्याएका छौँ,’ उनले भने । अन्धोपन निवारणमा आँखा उपचार केन्द्र लागि परेको उनको भनाइ छ । तिलोत्तमामा रहेका आँखा रोगसम्बन्धि बिरामीलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका अध्यक्ष कमलराज जोशीले बताए । यसैबीच आँखा उपचार केन्द्र स्थापनाको अवसरमा एक दिने निःशुल्क आँखा शिविर गरेको छ ।


 शिविरमा नेत्र अधिकृत संजीव अधिकारी र सुसन नकर्मीको टोलीले बिरामीको आँखा परीक्षण गरेका थिए । शिविरमा २ सय ५० जना आँखा रोगीको परीक्षण गरिएको थियो । जसमध्ये १८ जना मोतीयाबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि श्री रण अम्बिका शाह आँखा अस्पताल रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए । अस्पतालको व्यवस्थापनमा हाल सियारी, सम्मरीमाई, रोहिणी गाउँपालिका, सैनामैना, लुम्बिनी र तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्