लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले तिलोत्तमा–१५ शाखा कमिटीको विस्तारित भेला

IMG

तिलोत्तमा सिटी,१७ भाद्र २०७८,बिहिबार। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलोत्तमा नगरपालिका–१५, शाखा कमिटीको विस्तारित भेला बुधबार कोटिहवामा सम्पन्न भएको छ । भेलामा बोल्ने पार्टीका नेताहरुले एमाले जनताको मनमा बस्न सफल भएको दावी गरेका छन् । उनीहरुले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार हटाइए पनि आगामी निर्वाचन जनताले एमालेलाई पहिलो पार्टी बनाउने बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपानेले कम्युनिष्ट पार्टीले मात्र मुलुकलाई समृद्धिको दिशातर्फ लैजान सक्ने बताए । उनले केपी ओली नेतृत्वको सरकारले थुप्रै विकास निर्माणका कार्यहरु गरेको देख्दा आफू पछाडी परिन्छ भन्ने सोचले सरकार परिवर्तन गर्ने काम भएको बताए ।


लुम्बिनी प्रदेशका पूर्व सांसद न्यौपानेले अहिलेको शेर बहादुर देउवा नेतृत्वको सरकारसंग विकास निर्माण र मुलुकलाई समृद्ध बनाउने योजना नरहेको दावी गरे । ‘अहिलेको गठबन्धन सरकार केवल सत्ता बचाउने खेलमा लागेको छ, सरकार गठन भएको डेढ महिना बितिसक्दा समेत मन्त्रीमण्डल विस्तार हुन सकेको छैन, ’न्यौपानेले भने । उनले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेर वर्तमान सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए ।आगामी निर्वाचनमा नेपाली कांग्रेससंग केही प्रतिष्पर्धा भए एमालेसंग अन्य पार्टीको प्रतिष्पर्धा नहुने बताए । पार्टीभित्र मतभेद, अन्तरसंघर्ष हुँदा पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्छ, नेता न्यौपानेले भने पार्टी फुटाउने विर्सनवादी काम हो, गलत बाटोमा लागेका साथीहरु मूलधारमा आउनुहोस्, जो विभाजनको बाटोमा जान्छन्, उनीहरु आफै सिद्धिन्छन् ।  


एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ का संयोजक यज्ञ गैरेले एमालेमा हुनु भनेको गर्वको कुरा भएको बताए । उनले एमालेलाई बलियो र संगठित बनाउन नेता कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको तर केही नेताहरुले त्यो भूमिका बिर्सेको बताए । एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा तिलोत्तमा नगर इञ्चार्ज श्याम खरेलले आफ्नो नेतृत्वमा रहेको सरकार ढालेर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउनेहरुको आगामी निर्वाचनमा जनताले मुल्यांकन गर्ने बताए । उनले माधव कुमार नेपालको नेतृत्वमा गठन भएको पार्टीले कतिपय स्थानमा वडा कमिटी समेत गठन गर्न नसक्ने बताए ।पार्टीका जिल्ला सचिवालय सदस्य तथा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईले एमालेलाई थप मजबुत बनाउन लाग्नुपर्ने बताए । उनले एमालेमा लामो समयसम्म काम गरेका केही नेता विभिन्न बहानामा पार्टीैबाट अलग गएको बताए । नेता चापागाईले ओली नेतृत्वको सरकारमा भएका विकास निर्माणका कामहरुको बारेमा जनताले राम्रोसंग बुझेको बताए ।


एमाले तिलोत्तमा वडा नम्बर १५ शाखा कमिटीका अध्यक्ष डोलराज बस्यालले एमाले जनताको मनमा बस्न सफल भएको बताए । उनले एमालेप्रति विश्वास बढ्दो रहेको बताए । एमालेका युवा नेता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङले आगामी निर्वाचनमा एमाले मुलुकको ठूलो पार्टी बन्ने बताए । अखिल नेपाल महिला संघ (अनेमसंघ) तिलोत्तमा नगर अध्यक्ष कमला ज्ञवालीले जस्तोसुकै परिस्थितिमा एमाले एकजुट भएर अगाडी बढेको बताइन् ।राष्ट्रिय युवा संघ, नेपाल तिलोत्तमा नगर अध्यक्ष दिपेश कंडेलले संगठन निर्माण र पार्टीले खटाएको काममा संघले ध्यान दिने बताए ।एमाले तिलोत्तमा वडा नम्बर १५ शाखा कमिटीका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता, खेमराज गुरुङको स्वागत तथा एमाले युवा नेता एवं अनेरास्ववियुका केन्द्रीय सदस्य योगेश पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



विभिन्न जनवर्गीय संगठनमा नेतृत्वको जिम्मेवारी

भेलामा विभिन्न एमालेको विभिन्न जनवर्गीय संगठनमा नेतृत्वको जिम्मेवारी प्रदान गरिएको छ । जसअन्तर्गत अनेमसंघ तिलोत्तमा–१५ शाखा कमिटीको अध्यक्षमा गंगा सुवेदी र राष्ट्रिय युवा संघको अध्यक्षमा पुजन बस्याललाई जिम्मेवारी दिइएको छ ।त्यस्तै किसान संघको संयोजकमा तर्सु थारु, दलित मुक्ति समाजमा जितेन्द्र वौडेल, उद्योग फाँटमा चुरामणि सुवेदी, आदिवासी फाँटमा सन्तोष कुमार गुरुङ, भु.पु. सैनिक तथा प्रहरीमा दल बहादुर गुरुङ, सहकारीमा क्षितिजा पौडेल, पेशागतमा भविन्द्र कार्की, भूमिहिन सुकुम्बासीमा बाबुलाल बन्जाडे र ज्येष्ठ नागरिकमा महेश्वर सापकोटा रहेका छन् । कार्यक्रममा जनवर्गीय संगठनका संयोजक तथा पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो ।


कमेन्ट गर्नुहोस्