
तिलोत्तमा सिटी,३१ साउन २०७८,आईतबार। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । आइतबार दिउँसो विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ ।तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुलसमेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको जनाइएको छ ।
काबुलमा तालिबानका लडाकुको प्रवेश
अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् ।अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु सहरमा प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।
अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै नेटोका अधिकारीले युरोपेली संघा (ईयू)का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् ।तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्