
तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार। नेकपा (माओवादी केन्द्र) ले साउन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।बुधबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले साउन २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाएको छ ।माओवादीको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गरेको छ ।
बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि नेता श्रेष्ठले बताए ।‘….गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ’ उनले भने ।माओवादी केन्द्रले साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा देशभर कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
कमेन्ट गर्नुहोस्