
तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले पार्टी नेता धर्मेन्द्र बास्तोला लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए ।विप्लव समूहका नेताहरुका अनुसार ८ मंसिर २०७१ मा विप्लवले नयाँ पार्टी बनाएपछि प्रचण्डसँग सम्भवतः पहिलो पटक भेटवार्ता हो । शान्तिपूर्ण राजनीतिमा आएपछि दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका उनले अरु दलका नेताहरुलाई भेटेका थिएनन् । प्रचण्डसँग पनि भेट भएको थिएन ।
यद्यपि पार्टीका अरु नेताहरुले भने प्रचण्डलाई यसअघि पनि भेटेको विप्लव समूहका एक नेताले बताए ।बुधबार खुमलटारमा भएको भेटमा प्रचण्ड र विप्लव दुबैले विगतका दिन सम्झिएका थिए ।प्रचण्डले माओवादी सशस्त्र विद्रोहको नेतृत्व गर्दा विप्लव त्यही पार्टीमा थिए । वृहत शान्ति सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि पनि केही समय एउटै पार्टीमा रहे ।मोहन वैद्यले पार्टी फुटाउँदा विप्लव उनीतिर लागेका उनले ८ मंसिर २०७१ मा आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका थिए ।भेटमा सहभागी विप्लव समूहका नेता बास्तोलाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । ‘हामी बृहत कम्युनिस्ट ध्रुवीकरणको पक्षमा छौं’ उनले भने, ‘उहाँहरुबीच समग्र विषयमा छलफल भएको छ ।’
भेटमा विप्लवले सरकारसँग भएको सहमति कार्यान्वयनको एजेण्डा पनि उठाएका छन् । बन्दी नेता कार्यकर्ता रिहा गर्ने सहमति भए पनि कार्यान्वयन नभएको विप्लव समूहको गुनासो छ । विप्लव र उनका समूहका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेर पनि यसबारे असन्तुष्टि जनाएका थिए ।कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका उनले यो मुद्दा पनि उठाएका हुन् । प्रचण्डले सहमति कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिएको एक नेताले बताए ।खुमलटार पुगेका विप्लवले विरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेटेका छन् ।
कमेन्ट गर्नुहोस्