
तिलोत्तमा सिटी १ साउन २०७८, शुक्रवार।लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारित नहुने अवस्था आएपछि मध्यरातमा प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएको छ । बजेट पारित गर्न सदनमा बहुमत नजुट्ने अवस्थाम आएपछि बैठकनै छोडेर हिँडेको सरकारले बिहीबार रातिनै करिब १२ बजे तिर वजेट अधिवेशनको अन्त्य गरीदिएको थियो ।शुक्रबारको प्रदेश मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मन्त्रिपरिषद्मा पेश गरेको ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेअनुरुप अध्यादेशबाट बजेट आएको हो ।सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशसभामा यहि असार १ गते आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । अध्यादेश जारी गर्नुपर्ने विषयमा पत्रकारहरुलाई जानकारी गराउँदै मन्त्री चौधरीले सरकार बनेको दिनमा सरकार पूर्ण बहुमतमा रहेको बताउँदै अहिले पनि आफूहरु नै बहुमतमा रहेको बताए।
बहुमतमा रहेको सरकारले सदनबाट पास गर्न नसकेर अध्यादेश रोजेको पत्रकारको जिज्ञासामा मन्त्री चौधरीले भने ‘प्रमुख प्रतिपक्षि दलसँग एक किसिमको छलफल भएको थियो, पहिले बजेट पास गर्ने अनि विश्वासको मत लिने भन्ने तर, माओवादी केन्द्र्र मिल्न नखोजेकोले बाध्य भएर यता ल्याएका हौँ, किनकी आज बजेट नआएको भए, अर्थ सम्बन्धी कुनैपनि काम हुन सक्ने थिएन।’ उनले साउन १ गतेदेखि नै प्रदेश सरकारले प्रदान गर्ने सेवा र कार्यका लागि रकम खर्चको बन्दोबस्त गर्नै पर्ने भएकोले अध्यादेश जारी गर्नुपर्ने बाध्यात्मक परिस्थिमा सरकार पुगेको बताए।
उनले भने–‘प्रदेश सरकारले लगाउने विभिन्न करहरु र करहरुको दर निर्धारण नगरी कर संकलन गर्न नमिल्ने साथै विभिन्न प्रकारका सेवा उपर लिइने शुल्क समेत शुल्क निर्धारण नभएसम्म त्यस्तो सेवा प्रदान गर्दा के कति शुल्क लिने भन्ने विषयमा समेत अन्यौलता सिर्जना हुने भएकाले आर्थिक अध्यादेश जारी गर्नु परेको हो।’‘सर्वदलीय छलफल गर्न समय माग गरिएकोमा सोका लागि आवश्यक समय समेत उपलब्ध नगराई केवल आधा घण्टाको लागि मात्र सदन स्थगन गरी पुनः सदन सञ्चलन गर्ने ?’ उनले प्रतिप्रश्न गरे । सत्ता पक्षका सांसदको अनुपस्थितिको फाइदा उठाई प्रदेश सरकारले पेश गरेको बजेट तथा कार्यक्रम विफल गर्ने प्रयत्न भएको भन्दै उनले गुनासो गरे ।
कमेन्ट गर्नुहोस्